काभ्रेपलाञ्चोक । अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएपछि काठमाडौंबाट पूर्वतर्फ जाने सबै सवारीसाधनलाई धुलिखेल चोकमा होल्ड गरिएको छ। वर्षाका कारण राजमार्गका विभिन्न स्थानमा पहिरो तथा लेदो खस्नुका साथै रोशी खोलाले सडक कटान गरेपछि यातायात प्रभावित भएको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी रविन कार्कीका अनुसार नमोबुद्ध नगरपालिका–६ को चौकीडाँडा, रोशी गाउँपालिका–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी–११ को माम्तीमा पहिरो खसेपछि बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। चौकीडाँडामा रोशी खोलाले डाइभर्सनसमेत कटान गरेको प्रहरीले जनाएको छ।
राजमार्ग अवरुद्ध भएपछि काभ्रेभञ्ज्याङ र भकुण्डे क्षेत्रमा समेत सवारीसाधन रोकिएका छन्। अहिले पनि वर्षा भइरहेकाले पहिरो हटाउन समय लाग्न सक्ने प्रहरीले जनाएको छ। प्रहरीले यात्रुहरूलाई सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरेको छ।