मनोहरा पुलसँगैको जमिन भासियो, आवतजावतमा रोक

मनोहरा पुलसँगैको जमिन भासियो, आवतजावतमा रोक

काठमाडौँको मुलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुलसँगैको जमिन भासिएपछि उक्त पुलबाट आवतजावतमा रोक लगाइएको छ। पुलसँगैको ग्याविन जालीको भाग भासिएपछि जोखिम बढेकाले आवतजावत रोकिएको जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी सूर्य खड्काले बताएका छन्। अविरल वर्षाका कारण भक्तपुरको खस्याङ–खुसुङ खोलाको सतहसमेत बढेको छ। डेकुचा हुँदै चाँगुनारायणतर्फ जाने सडकमा खोलाको बहाव बढेर बाटोसम्म पुगेको छ। त्यस्तै, लोकन्थली नजिकैको सागबारीमा नदीको सतह बढेर अस्थायी टहरासम्म पुगेपछि प्रहरीले त्यहाँ बस्दै आएका स्थानीयलाई सुरक्षित स्थानमा सारेको छ। उनीहरूलाई नजिकैको आदर्श जनप्रेमी स्कुलमा राखिएको प्रहरीले जनाएको छ। बालकोट र लोकन्थलीको सीमामा पर्ने सागबारीमा हनुमन्ते, मनोहरा र गोदावरी खोला आएर जोडिने भएकाले उक्त क्षेत्र बाढीको जोखिममा रहेको छ। बिहीबारदेखि देशभर निरन्तर वर्षा भइरहेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार