बाला त्रिपुरासुन्दरी मन्दिरको भेटी चोरी प्रकरणमा थप चार पक्राउ

बाला त्रिपुरासुन्दरी मन्दिरको भेटी चोरी प्रकरणमा थप चार पक्राउ

डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित बाला त्रिपुरासुन्दरी मन्दिरबाट भेटी चोरी भएको घटनामा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ।गत ३ असोजमा मन्दिरबाट ५५ हजार ८० रुपैयाँ नगद चोरी भएको घटनाको अनुसन्धानका क्रममा जिल्ला अदालत डोल्पाबाट जारी पक्राउ पुर्जीका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटका २३ वर्षीय प्रख्यात उपाध्याय, ४४ वर्षीय रामप्रसाद उपाध्याय, २९ वर्षीय आशिष उपाध्याय र २७ वर्षीय झलक उपाध्याय रहेका छन्। उनीहरूलाई ८ असोजमा त्रिपुराकोटबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पदम रावलले जानकारी दिए।पक्राउ परेका चारै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसअघि प्रहरीले सोही वडाका ३७ वर्षीय जयानन्द उपाध्यायलाई ६ असोजमा पक्राउ गरेको थियो। उनलाई जिल्ला अदालत डोल्पामा पेस गरी सात दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। यससँगै भेटी चोरी प्रकरणमा पक्राउ पर्नेको संख्या पाँच पुगेको छ।

हराएको रकम दुई फरक स्थानमा फेला

मन्दिरको मुख्य पूजास्थलमा राखिएको ५५ हजार ८० रुपैयाँ नगद चोरी भएको घटना सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानकै क्रममा सोमबार साँझ मन्दिरको पश्चिमतर्फ रहेको टिमुरको रुखमा ५५ हजार रुपैयाँ फेला परेको थियो।

उक्त रकम हराएको भेटी भएको भन्दै श्री बाला त्रिपुरासुन्दरी शुशंकादरी योगिनी उद्यान पीठले विज्ञप्तिमार्फत जानकारी गराएको थियो। पीठका अनुसार खोजतलासका क्रममा रकम फेला परेको हो।

फेला परेको रकम मन्दिर सुरक्षा पोस्टका इन्चार्ज प्रहरी हबलदार इन्द्रबहादुर जिसीले पुजारी रामप्रसाद उपाध्यायलाई हस्तान्तरण गरेका थिए।

त्यसको भोलिपल्ट मंगलबार दिउँसो पुनः मन्दिर परिसरमै करिब ५४ हजार रुपैयाँ फेला परेको खबर सार्वजनिक भयो। उक्त रकम पनि मन्दिरकै भएको भन्दै पुजारीले सार्वजनिक गरेका थिए। प्रहरीले दोस्रो पटक फेला परेको रकम बरामद गरी आवश्यक मुचुल्का उठाएर अनुसन्धान गरिरहेको जनाएको छ।

एउटै चोरी घटनामा हराएको भनिएको रकम दुई फरक–फरक स्थानमा फेला परेपछि घटनाबारे थप प्रश्न उठेको छ। प्रहरीले दुवैपटक फेला परेको रकमको मुचुल्का उठाइसकेको जनाएको छ।

रकम कसरी र किन फरक–फरक स्थानमा फेला पर्यो भन्ने विषयसहित चोरी घटनाको वास्तविकता पत्ता लगाउन प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार