बंगालको खाडीमा उत्पन्न न्यूनचापीय क्षेत्रको प्रभावका कारण देशका अधिकांश क्षेत्रमा मौसम बदली भई काठमाडौं उपत्यकामा लगातार वर्षा भइरहेको छ। वर्षाका कारण उपत्यकाका बागमती, विष्णुमती, मनोहरा, हनुमन्ते र धोबीखोलालगायत नदी तथा खोलामा जलसतह बढेको छ। जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले नदी करिडोरका सडकमा आवतजावत गर्न रोक लगाएको छ। यसैबीच, उपत्यकाको पानी निकास हुने चोभारस्थित गल्छीमा बागमती नदी उर्लिएको छ। जलसतह बढेसँगै चोभार क्षेत्रमा बाढी हेर्न आउने मानिसहरूको समेत भिड लागेको छ।