काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले शुक्रबार बिहान संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण नेपालजस्ता देशले भोग्नुपरेको असरबारे विश्व समुदायको ध्यानाकर्षण गराए।
प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय मञ्चबाट नेपालको आवाज उठाइरहेका बेला उनका प्रमुख सल्लाहकार कुमार बेन पनि सम्बोधनलाई ध्यानपूर्वक सुनिरहेका देखिए।काठमाडौँ महानगरपालिकाको मेयर हुँदादेखि प्रधानमन्त्री बनेसम्म बालेनलाई पृष्ठभूमिमा रहेर सल्लाह तथा सुझाव दिँदै आएका बेन आफ्नो पहिरनका कारण पनि बेलाबेला चर्चामा आउने गरेका छन्।
सामान्यतया चेक सर्ट र बाक्लो ज्याकेटमा देखिने बेन न्युयोर्क प्रस्थान गर्ने दिन विमानस्थलमा पनि त्यही शैलीमा देखिएका थिए। तर, संयुक्त राष्ट्रसंघको महासभामा भने उनको पहिरन केही फरक देखियो।शुक्रबार उनी सेतो सर्ट, टाइ र कोटमा औपचारिक पहिरनमा देखिए। कोटमा सिलाम साक्मा समेत भिरेका बेन प्रधानमन्त्री बालेनको सम्बोधनका क्रममा निकै ध्यानपूर्वक सुनिरहेका देखिन्थे।महासभामा बेनको यो नयाँ हुलिया पनि सामाजिक सञ्जालमा चर्चाको विषय बनेको देखिएको छ।