नुवाकोटमा बाढी प्रभावित ४५ सयभन्दा बढीको स्वास्थ्य उपचार

नुवाकोटमा बाढी प्रभावित ४५ सयभन्दा बढीको स्वास्थ्य उपचार

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटका ४५ सयभन्दा बढीको स्वास्थ्य उपचार तथा परीक्षण गरेको छ। भदौ १० गतेदेखि नेपाल एपीएफ अस्पताल बलम्बुबाट चिकित्सकसहितको टोली नुवाकोटका विभिन्न स्थानमा परिचालन गरी स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको सशस्त्र प्रहरीले जनाएको छ। टोलीले नुवाकोट आयुर्वेद चिकित्सालय, क्रियापुत्री भवन, केन्द्रीय कारागार, सेतीदेवी आधारभूत विद्यालय, क्षेत्रपाल आधारभूत विद्यालय, रणभुवनेश्वरी माध्यमिक विद्यालय र नुवाकोट स्वास्थ्य चौकीलगायत स्थानमा स्वास्थ्य सेवा प्रदान गरेको हो।

त्यसैगरी, विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकाका २५ वटा होल्डिङ सेन्टरमा रहेका बाढी प्रभावितको समेत स्वास्थ्य परीक्षण गरिएको छ। केन्द्रीय कारागार नुवाकोटमा सम्भावित सरुवा रोग तथा अन्य स्वास्थ्य समस्या फैलिन नदिन चिकित्सकसहितको टोलीले विशेष स्वास्थ्य परीक्षण गर्नुका साथै ४०२ जना कैदीबन्दीलाई स्वास्थ्यसम्बन्धी परामर्श दिएको सशस्त्र प्रहरीले जनाएको छ।

स्वास्थ्य उपचारसँगै बाढीपछि फैलन सक्ने महामारी नियन्त्रण तथा वातावरणीय स्वच्छता कायम गर्ने उद्देश्यले देवीघाट बजार, देवीघाट माध्यमिक विद्यालय परिसर र केन्द्रीय कारागार क्षेत्रमा कीटनाशक औषधिसमेत छर्किएको छ। सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बाढी प्रभावित क्षेत्रमा चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली अझै परिचालन भइरहेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार