कैलाली । सुदूरपश्चिम प्रदेशका अधिकांश क्षेत्रमा सामान्य वर्षा भइरहे पनि ठूलो जोखिम भने क्रमशः टर्दै गएको छ। अत्तरियास्थित नेपाल मौसम विज्ञान फिल्ड कार्यालयका अनुसार बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव विस्तारै कमजोर बन्दै गएकाले वर्षाको जोखिम पनि घट्दै गएको हो।असोज ९ गतेदेखि लगातार वर्षा हुँदा सुदूरपश्चिमको जनजीवन प्रभावित भए पनि पछिल्लो समय मौसम प्रणाली कमजोर बन्दै गएकाले ठूलो जोखिम नरहेको कार्यालयले जनाएको छ। कार्यालय प्रमुख इन्जिनियर सञ्जयकुमार साहका अनुसार आज दिउँसोदेखि न्यूनचापीय प्रणाली कमजोर हुँदै जाने भएकाले जोखिम कम भए पनि सतर्कता भने आवश्यक छ।आज दिउँसो प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। तराईका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। आज रातिदेखि भने हिमाली, पहाडी र तराई क्षेत्रमा केही स्थानमा मात्र मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको कार्यालयले जनाएको छ।आगामी बुधबार सुदूरपश्चिमका अधिकांश स्थानमा मौसम आंशिक बदली रहने तथा केही स्थानमा मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। बुधबार राति भने तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहने पूर्वानुमान छ।