काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले अविरल वर्षा, बाढी, पहिरो, हावाहुरी तथा चट्याङका कारण विद्युत् प्रसारण तथा वितरण संरचनामा हुन सक्ने क्षतिलाई मध्यनजर गर्दै विद्युत् आपूर्ति नियमित राख्न तथा प्रभावित क्षेत्रमा अवरुद्ध सेवा यथाशीघ्र पुनःस्थापना गर्न आवश्यक तयारी र समन्वय तीव्र बनाएको छ। प्राधिकरणले देशभरको विद्युत् आपूर्तिको अवस्था, प्रसारण तथा वितरण संरचनाको स्थिति र प्रभावित क्षेत्रको निरन्तर अनुगमन गरिरहेको जनाएको छ।सम्भावित क्षति तथा विद्युत् आपूर्ति अवरोधलाई तत्काल सम्बोधन गर्न आवश्यक जनशक्ति, उपकरण तथा प्राविधिक सामग्री तयारी अवस्थामा राखिएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले आइतबार वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकाल, ग्रिड सञ्चालन विभागका प्रमुख, सातै प्रदेशका प्रादेशिक कार्यालय प्रमुख तथा दुई डिभिजन कार्यालयका प्रमुखसँग जुममार्फत छलफल गरी विभिन्न क्षेत्रमा वर्षा, बाढी तथा पहिरोबाट विद्युत् संरचनामा परेको प्रभाव र विद्युत् आपूर्तिको अवस्थाबारे जानकारी लिएका थिए।छलफलका क्रममा प्रभावित क्षेत्रमा विद्युत् सेवा यथाशीघ्र सञ्चालन गर्न आवश्यक जनशक्ति, उपकरण तथा सामग्री परिचालन गर्न कार्यालय प्रमुखहरूलाई निर्देशन दिइएको छ। विद्युत् आपूर्ति अवरुद्ध भएका स्थानमा सम्भव भएसम्म वैकल्पिक लाइन तथा फिडरमार्फत आपूर्ति सञ्चालन गर्न र क्षतिग्रस्त संरचनाको अवस्था मूल्याङ्कन गरी सुरक्षित रूपमा मर्मत तथा पुनःस्थापनाको काम तत्काल अघि बढाउन पनि निर्देशन दिइएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले प्रभावित क्षेत्रको अवस्थालाई निरन्तर अनुगमन गर्दै आवश्यकताअनुसार थप जनशक्ति, उपकरण तथा प्राविधिक सामग्री परिचालन गर्ने व्यवस्था मिलाएको छ। प्राकृतिक विपद्का कारण उत्पन्न हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै कर्मचारी तथा प्राविधिक जनशक्तिको सुरक्षालाई प्राथमिकतामा राखेर मात्र मर्मत तथा पुनःस्थापनाको काम अघि बढाउन सम्बन्धित कार्यालयलाई निर्देशन दिइएको छ।विद्युत् आपूर्ति प्रणालीको अवस्था केन्द्रीय तहबाट निरन्तर अनुगमन तथा समन्वय गरिरहेको प्राधिकरणले उपभोक्तालाई सम्भव भएसम्म नियमित विद्युत् सेवा उपलब्ध गराउन तथा अवरुद्ध सेवा छिटोभन्दा छिटो पुनःस्थापना गर्न आवश्यक सबै उपाय अवलम्बन गरिएको जनाएको छ।