काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालका उपाध्यक्ष एवं पूर्वमन्त्री अब्दुल खानले अविरल वर्षाका कारण बर्दियासहित देशभर किसानले भोग्नुपरेको समस्या र क्षतिबारे कृषि, वातावरण तथा पर्यावरण मन्त्री गीता चौधरीको ध्यानाकर्षण गराएका छन्। आइतबार मन्त्री चौधरीलाई भेटेर खानले मल अभावको समस्या झेलिरहेका किसान थप बाढीको चपेटामा परेको भन्दै पीडित किसानलाई सरकारले तत्काल राहत तथा उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका हुन्। बाढीबाट प्रभावित किसानका लागि सरकारले तत्काल आवश्यक कदम चाल्नुपर्ने विषयमा मन्त्री चौधरीको ध्यानाकर्षण गराइएको खानले बताए। भेटका क्रममा मन्त्री चौधरीले बाढीका कारण किसानले व्यहोर्नुपरेको क्षतिबारे मन्त्रालयले अध्ययन गरिरहेको र पीडित किसानलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको खानले जानकारी दिए।