काठमाडौँ। अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानबाट प्रभावित नागरिकको खोज तथा उद्धारमा नेपाली सेनाले सक्रियता बढाएको छ। आइतबार सेनाले पर्वत, नवलपरासी पूर्व, पाल्पा, चितवन र धनुषाका विभिन्न स्थानमा जोखिममा परेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै खोज तथा उद्धार कार्य सञ्चालन गरेको हो। पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा कालीगण्डकी नदी बस्तीमा पसेर घर बगाएपछि नयाँ रणभिम गुल्मबाट खटिएको सेनाले स्थानीयलाई सुरक्षित स्थानमा सार्न तथा सरसामान जोगाउन सहयोग गरिरहेको छ। नवलपरासी पूर्वको मध्यबिन्दु नगरपालिका–२ भुताहामा नारायणी नदीको बाढीका कारण डुबानको जोखिम बढेपछि नम्बर–२ वन तथा पर्यावरण सुरक्षा गणको टोलीले स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेको छ भने सुस्ता गाउँपालिका–५ मा गोरखदल गणको सुरक्षा बेस त्रिवेणीबाट खटिएको टोलीले स्थानीयवासीलाई सुरक्षित स्थानमा सारेको छ। यस्तै, पाल्पाको माथागढी गाउँपालिका–३ लेन्दीमा पहिरोले घर पुरिएपछि सैनिक टोली खोज तथा उद्धारमा जुटेको छ भने चितवनको भरतपुर महानगरपालिका–१ देवघाट र वडा नं. ३ बाह्रघरेमा नारायणी नदीको सतह बढेपछि नयाँ सबुज गणको टोली उद्धार तथा स्थानान्तरणमा परिचालित भएको छ। धनुषाको मिथिला नगरपालिका–११ आपगाछी चुरेमा पहिरोले घर पुरिएपछि पनि सेनाको टोली खोज तथा उद्धारका लागि खटिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। यसैबीच, बाढी र पहिरोका कारण अवरुद्ध सडक खुलाउन पनि सेनाले पहल गरिरहेको छ। तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवास्थित पृथ्वी राजमार्गमा पहिरो र लेदोका कारण अवरुद्ध सडक खण्डलाई काली भञ्जन गण (ई) बाट खटिएको सेनाको टोलीले स्थानीय निकायसँगको सहकार्यमा अवरोध हटाएर पूर्ण रूपमा सञ्चालनमा ल्याएको छ। सेनाले देशका विभिन्न भागमा आफ्नो संयन्त्र परिचालन गरी नागरिकको जीउधनको सुरक्षाका लागि खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।