काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई ‘जेनजीबाट सुरक्षा थ्रेट’ रहेको भन्दै भइरहेको प्रचारप्रति जेनजी अभियन्ता अजय सोडारीले आपत्ति जनाएका छन्। उनले आइतबार फेसबुकमार्फत कुनै पनि जेनजी अभियान, समूह वा व्यक्तिले जबरालाई धम्की, डर–त्रास वा सुरक्षा खतरा नदिएको दाबी गरेका छन्।जबरालाई कुनै व्यक्ति वा समूहबाट सुरक्षा थ्रेट प्राप्त भएको भए त्यसको तथ्य र प्रमाण सार्वजनिक गर्न सोडारीले सम्बन्धित निकायसँग माग गरेका छन्। उनले जेनजी आन्दोलनलाई अपराध, हिंसा वा धम्कीसँग जोडेर बदनाम गर्ने प्रयास स्वीकार्य नहुने बताएका छन्।राज्यका निकायबाट जेनजीलाई आपराधिक गतिविधिसँग जोड्ने वातावरण बनाइनु गम्भीर विषय भएको सोडारीको भनाइ छ। उनका अनुसार कसैलाई पक्राउ वा नियन्त्रणमा लिँदा त्यसको स्पष्ट कानुनी आधार, कारण र प्रमाण हुनुपर्छ।सुरक्षा संवेदनशीलताको नाममा अस्पष्ट आरोप लगाउने र नागरिकलाई जानकारीविहीन बनाउने कार्यले विधिको शासन तथा राज्यको जवाफदेहितामाथि प्रश्न उठाउने उनले बताएका छन्। सोडारीले नेपाल सरकार र नेपाल प्रहरीसँग ‘जेनजीबाट सुरक्षा थ्रेट’ भनिएको भए त्यसको आधार र प्रमाण सार्वजनिक गर्न माग गरेका छन्।जेनजीको नाममा आरोप लगाइएको भए तथ्यसहित स्पष्ट पार्न र अन्यथा जेनजी आन्दोलनलाई बदनाम गर्ने आधारहीन प्रचार बन्द गर्न उनले सम्बन्धित निकायलाई आग्रह गरेका छन्।