काठमाडौँ । मनाङको हिम्लुङ हिमालमा आइतबार गएको हिमपहिरोमा परी सम्पर्कविहीन भएकाहरूको खोजी सोमबार बिहानैदेखि तीव्र पारिएको छ। सम्भावित क्षेत्रमा हेलिकप्टरमार्फत खोजी गर्नुका साथै उद्धार टोली घटनास्थलमै पुगेर खोज तथा उद्धार कार्यमा जुटिरहेको छ। प्रारम्भिक विवरणअनुसार हिमपहिरोमा परी १० जना सम्पर्कविहीन भएको भनिए पनि यकिन संख्या भने अझै पुष्टि हुन सकेको छैन। मनाङ प्रशासनले घटनाको विस्तृत विवरण संकलन गर्दै सम्पर्कविहीनहरूको अवस्था पत्ता लगाउने प्रयास भइरहेको जनाएको छ।यसअघि आइतबार उद्धार गरिएका दुई जनाको शव चामे ल्याइएको थियो। मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार दुवै शव काठमाडौं ल्याई शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको छ। सम्पर्कविहीनहरूको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी र सम्बन्धित उद्धार टोली परिचालन गरिएको प्रशासनले जनाएको छ।