काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सरकार बोझिलो र खर्चिलो भएको भन्ने आम बुझाइ तथ्यगत नभएको बताएका छन्। प्रदेश सरकारको कुल बजेटको ठूलो हिस्सा विकास निर्माण तथा दीर्घकालीन सम्पत्ति सिर्जनामा खर्च हुने भएकाले प्रदेश संरचनालाई अनावश्यक बोझका रूपमा बुझ्न नहुने उनको भनाइ छ। मुख्यमन्त्री थापा मगरका अनुसार बागमती प्रदेश सरकारको चालु आर्थिक वर्षको कुल बजेट ६६ अर्ब ९३ करोड रुपैयाँ रहेको छ। त्यसमध्ये तलब, भत्ता, कार्यालय सञ्चालन, मर्मतसम्भार तथा सामाजिक सुरक्षालगायत नियमित प्रकृतिका कार्यक्रममा २२ अर्ब ९६ करोड रुपैयाँ अर्थात् ३४.३१ प्रतिशत खर्च हुने गरी विनियोजन गरिएको छ। त्यस्तै, विकासतर्फ ४३ अर्ब ९७ करोड रुपैयाँ अर्थात् ६५.६९ प्रतिशत बजेट विनियोजन गरिएको उनले बताए। उक्त रकम दीर्घकालीन सम्पत्ति सिर्जना गर्ने तथा नागरिकको दैनिक जीवन सहज बनाउने विकास पूर्वाधार निर्माणमा खर्च हुने उनको भनाइ छ।
मुख्यमन्त्री थापा मगरले प्रदेश संरचनामा सुधारको आवश्यकता रहेको स्वीकार गर्दै सरकारले मन्त्रालयको संख्या घटाउनेदेखि विभिन्न कार्यालय गाभ्नेसम्मका काम गरिसकेको जानकारी दिए। प्रदेश सरकारको संरचना र खर्च व्यवस्थापनलाई थप व्यवस्थित बनाउन अध्ययन तथा सुधारको प्रक्रिया अघि बढिरहेको उनले बताए। ‘प्रदेश सरकार बोझिलो भयो, खर्चिलो भयो भन्ने आम सर्वसाधारणले सायद नबुझेरै भन्नुभएको हुनुपर्छ,’ उनले भने। प्रदेश संरचनामा सुधार आवश्यक भए पनि सिंगो प्रादेशिक व्यवस्था मुलुकको आवश्यकता भएको उनको दाबी छ। विकास निर्माणदेखि विपद् व्यवस्थापनसम्म प्रदेश सरकारको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले भने, ‘चाहे विपद् आउँदा होस् या विकासका लागि, सिङ्गो प्रादेशिक व्यवस्था हाम्रो देशको आवश्यकता हो।’ प्रदेश सरकारलाई थप प्रभावकारी, व्यवस्थित र मितव्ययी बनाउने विषयमा सरकारले निरन्तर अध्ययन तथा सुधारको काम अघि बढाइरहेको मुख्यमन्त्री थापा मगरले बताए।