प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कहिले हुन्छ ? सांसद राईको सभामुखसँग प्रश्न

प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कहिले हुन्छ ? सांसद राईको सभामुखसँग प्रश्न

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले प्रधानमन्त्री बालेन्द्र शाहसँग हुने सांसदहरूको प्रश्नोत्तर कार्यक्रम अझै सञ्चालन नभएको भन्दै सभामुख डोलप्रसाद अर्यालसँग प्रश्न गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले भदौ १० गतेका लागि तोकिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम निर्धारित समय बितिसक्दा पनि हुन नसकेकोप्रति असन्तुष्टि जनाए । उनले भने, “प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने दिन भदौ १० गते तोकिएको थियो । तर, एक महिना दुई दिन भइसक्यो, त्यो दिन अझै आएको छैन । सरकारले अब केटाकेटी खेल खेल्न छोड्नुपर्छ ।” त्यसैगरी, पछिल्लो समय भइरहेको पक्राउ र रिहाइको शैलीप्रति पनि राईले प्रश्न उठाए । घटनाको गम्भीरता नहेरी हचुवाका भरमा पक्राउ गर्ने र भोलिपल्टै रिहा गर्ने सरकारी कार्यशैली उपयुक्त नभएको उनको भनाइ थियो । “विषय कति गम्भीर हो भन्ने कुराको ख्याल गरेर मात्रै पक्राउ गरिनुपर्छ । पक्राउ गर्ने र भोलिपल्टै छोड्ने काम कत्तिको उपयुक्त हो ?” भन्दै उनले प्रश्न गरे । आफूहरू प्रतिपक्षी दलमा रहे पनि राष्ट्रिय मुद्दा तथा विकासका सवालमा सरकारलाई सहयोग गर्दै आएको उल्लेख गर्दै सांसद राईले सरकारको गैरजिम्मेवार कार्यशैलीका कारण काम गर्न कठिन भइरहेको बताए ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार