काठमाडौँ । नेकपा एमाले संसदीय दलका उपनेता तथा सांसद पद्मा अर्यालले हालै देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानबाट भएको क्षतिप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्। प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले विपद्का कारण कतै बस्ती डुबानमा परेको, कतै पहिरोले घर पुरिएको तथा सडक र पुल बगाएको उल्लेख गर्दै नागरिकको जीवन रक्षा, तत्काल उद्धार तथा राहतमा सरकारको प्रभावकारी उपस्थिति हुनुपर्ने बताइन्।सांसद अर्यालले भदौ १० गतेको भोटेकोशी बाढी तथा त्यसपछि विभिन्न स्थानमा आएको प्राकृतिक विपद्का कारण जनजीवन अस्तव्यस्त बनेको बताइन्। विपद्का कारण नागरिकले ज्यान गुमाउनुपरेको, धेरै जना बेपत्ता भएको र हजारौँ नागरिक विस्थापित भएको उल्लेख गर्दै उनले विपद्को समयमा सरकारको पहिलो प्राथमिकता नागरिकको जीवन रक्षा र तत्काल राहत हुनुपर्नेमा जोड दिइन्।
स्याङ्जाको मिर्मि र गुल्मीको हर्मिचौर जोड्ने मोटरेबल पक्की पुल बाढीले बगाएको उदाहरण दिँदै अर्यालले स्थानीय तहसँग समन्वय गरी दीर्घकालीन सुरक्षा र पुनर्स्थापनाका लागि सरकारले राष्ट्रिय गुरुयोजना निर्माण गर्नुपर्ने बताइन्। साथै, विपद् व्यवस्थापनसँग सम्बन्धित कानुनी अड्चन हटाउन ढिलाइ नगरी आवश्यक कानुन निर्माण गर्नुपर्ने उनको भनाइ छ।अर्यालले विपद्पीडित नागरिकका लागि तत्काल राहत, सुरक्षित आवास तथा खानपानको व्यवस्था गर्न सरकारलाई आग्रह गरिन्। साथै, बाढीपहिरोबाट क्षति पुगेका सडक, पुल, विद्युत् र सञ्चार संरचनाको तत्काल पुनर्स्थापना गर्न तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकार गम्भीर रूपमा अघि बढ्नुपर्ने बताइन्।