निरन्तर वर्षाले अवरुद्ध बीपी राजमार्ग खुलाउन प्रयास तीव्र

निरन्तर वर्षाले अवरुद्ध बीपी राजमार्ग खुलाउन प्रयास तीव्र

काभ्रे । पछिल्लो चार दिनदेखि परेको निरन्तर वर्षाका कारण पहिरो तथा रोशी नदीको कटानबाट विभिन्न स्थानमा अवरुद्ध बनेको बीपी राजमार्ग खुलाउन सडक कार्यालय तथा स्थानीय प्रशासनले प्रयास तीव्र बनाएका छन्। प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार खुर्कोट–भकुण्डेबेँसी खण्डमा यातायात सञ्चालनका लागि अवरोध हटाउने काम भइरहेको छ। डिभिजन सडक कार्यालय भक्तपुरको टोली बिहानैदेखि सडक सञ्चालनका लागि परिचालित छ। मौसमले साथ दिएमा असोज १३ गते अपराह्नदेखि सडकमा यातायात सञ्चालनमा आउन सक्ने सम्भावना रहेको अधिकारीले बताए। पछिल्ला दिनको वर्षासँगै बीपी राजमार्गमा बाढी, पहिरो र नदी कटानको समस्या पुनः देखिएको हो। यसअघि विसं २०८१ असोजमा रोशी खोलामा आएको बाढी र पहिरोले राजमार्गको काभ्रे खण्डमा ठूलो क्षति पुर्‍याएपछि सडक अहिले स्थायी पुनर्निर्माणको चरणमा छ। सडकको ठूलो भाग बगेपछि तत्काल यातायात सञ्चालनका लागि विभिन्न स्थानमा अस्थायी डाइभर्सन निर्माण गरिएको थियो। जापानी सहयोग नियोग (जाइका)को प्राविधिक तथा आर्थिक सहयोगमा निर्माण भएको बीपी राजमार्गले पूर्वी तथा मध्य नेपाललाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने महत्वपूर्ण यातायात मार्गका रूपमा काम गर्दै आएको छ। राजमार्ग अवरुद्ध हुँदा यात्रु तथा चालकसँगै स्थानीय बस्ती, व्यापार–व्यवसाय र दैनिक जनजीवनसमेत प्रत्यक्ष प्रभावित हुने गरेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार