काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङले अविरल वर्षाका कारण मनाङ जिल्लामा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा आकस्मिक समयमा बोल्दै गुरुङले मनाङको भौगोलिक विकटताका कारण बाढी–पहिरोपछि उद्धार तथा राहतमा थप कठिनाइ भएको बताए।गुरुङका अनुसार असोज ८ गतेदेखि ११ गतेसम्म परेको अविरल वर्षाले मनाङको जनजीवन अस्तव्यस्त बनाएको छ। जिल्ला सदरमुकाम चामे क्षेत्रमा आधा दर्जनभन्दा बढी घर बाढीले बगाएको तथा मर्स्याङ्दी नदीको बहाव बढेपछि मनाङ जोड्ने मुख्य सडक र मोटरेबल पुलहरू डुबानमा परेका छन्।
मर्स्याङ्दी नदी थुनिएपछि मनाङ जाने बाटो अवरुद्ध भएको र तातोपानी आसपासका घरहरू डुबानमा परेपछि स्थानीय बासिन्दालाई सुरक्षाकर्मीको सहयोगमा सुरक्षित स्थानमा सारिएको गुरुङले बताए। नासोङ गाउँपालिकामा पनि डेढ दर्जनभन्दा बढी घरमा नदीले क्षति पुर्याएको तथा दर्जनौँ पुल–पुलेसा बगाउँदा जिल्लाभित्रको आवतजावत प्रभावित भएको उनको भनाइ छ।बाढी र पहिरोका कारण जिल्लाका विभिन्न स्थानमा विद्युत् तथा सञ्चार सेवा अवरुद्ध हुँदा उद्धार कार्यमा कठिनाइ भइरहेको गुरुङले बताए। निसाङ र नार्पाभूमि गाउँपालिकामा विद्युत् तथा टेलिफोन सेवा सञ्चालनमा आउन नसक्दा स्थानीय बासिन्दासँग सम्पर्क गर्नसमेत समस्या भएको उनले उल्लेख गरे।
यसैबीच, हिमाल आरोहणको तयारीमा रहेका तथा हिमालबाट फर्किएका २७ जना नेपाली पर्यटकमध्ये दुई जनाको मृत्यु भएको जानकारी प्राप्त भएको गुरुङले संसद्मा बताए। उनका अनुसार ११ जना सम्पर्कमा आएका छन् भने १४ जना अझै सम्पर्कविहीन छन्।सडक तथा पदमार्ग अवरुद्ध भएपछि मनाङका विभिन्न स्थानमा आन्तरिक तथा बाह्य पर्यटकहरू अलपत्र परेको सांसद गुरुङले बताए। उनले बाढी–पहिरोबाट सडक, पुल तथा पदमार्गमा पुगेको क्षतिका कारण सयौँ पर्यटक प्रभावित भएको र यसले मनाङको पर्यटन व्यवसाय तथा स्थानीय अर्थतन्त्रमा गम्भीर असर पारिरहेको भन्दै तत्काल उद्धार, राहत र यातायात व्यवस्था सहज बनाउन सरकारसँग आग्रह गरे।