काठमाडौँ । नेपाल प्रहरीले आगामी चाडपर्वलाई लक्षित गर्दै प्रमुख नाकाहरूमा ‘नागरिक यात्रु सहायता कक्ष’ स्थापना गर्ने भएको छ। यात्रु ठगी नियन्त्रण, टिकटमा हुने कालोबजारी रोकथाम तथा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सहायता कक्ष स्थापना गर्न लागिएको प्रहरी नायव उपरीक्षक (डीएसपी) सुनिल जंग शाहले सोमबार प्रतिनिधि सभाको पूर्वाधार विकास समितिलाई जानकारी दिए। उनका अनुसार सहायता कक्षमा नेपाल प्रहरी र ट्राफिक प्रहरीको उपस्थिति रहनेछ भने भाडादरसम्बन्धी विवाद तत्काल समाधान गर्न यातायात व्यवस्था विभागका प्रतिनिधिलाई समेत सहभागी गराउने प्रस्ताव गरिएको छ। सहायता कक्षमा सबै गन्तव्यको भाडादर स्पष्ट रूपमा राखिनेछ। प्रहरीले बढी भाडा असुल्ने, टिकटबिना यात्रु बोक्ने, एउटै सिटको टिकट दुई–तीन जनालाई बिक्री गर्ने तथा सिट क्षमताभन्दा बढी यात्रु राख्ने जस्ता गतिविधिमा विशेष निगरानी गर्ने जनाएको छ। टिकट बुकिङलाई व्यवस्थित र विश्वसनीय बनाउन काउन्टरमा बस्ने कर्मचारीलाई आधिकारिक परिचयपत्र अनिवार्य गर्नुपर्नेमा पनि प्रहरीले जोड दिएको छ। यसबाट टिकट काट्ने व्यक्ति कुन यातायात समितिसँग आबद्ध छ भन्ने पहिचान गर्न र समस्या उत्पन्न भएमा अनुगमन गर्न सहज हुने प्रहरीको भनाइ छ। दुर्घटना न्यूनीकरणका लागि ‘क्यू–फ्री’ प्रणालीमा सम्बन्धित रुटमा नियमित रूपमा चल्ने बस र अभ्यस्त चालकलाई प्राथमिकता दिनुपर्ने सुझावसमेत दिइएको छ। अपरिचित रुटमा नयाँ चालक पठाउँदा सडकको अवस्था, घुम्ती तथा जोखिमयुक्त स्थानबारे पर्याप्त जानकारी नहुँदा दुर्घटनाको सम्भावना बढ्न सक्ने डीएसपी शाहले बताए। दसैँका समयमा अत्यधिक सवारी चाप हुने कलङ्की–नागढुङ्गा सडकखण्डमा विशेष रणनीति अपनाउँदै उपलब्ध जनशक्तिलाई अधिकतम परिचालन गरी ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने प्रहरीले जनाएको छ।