काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजुनाथ पाण्डेले यातायात व्यवस्था कार्यालय र विभागको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सडक सुरक्षा र यातायात सेवा सुधारका लागि कडा कदम चाल्न आग्रह गरेका छन्। सोमबार बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले यातायात क्षेत्रमा देखिएको भ्रष्टाचार, अव्यवस्थित बसपार्क तथा मापदण्डविपरीतका ओभरलोड सवारीका कारण सर्वसाधारण जोखिममा परेको बताएका हुन्।सांसद पाण्डेले लामो दूरीका सवारीसाधनलाई रोड परमिट दिने प्रक्रियामा देखिएका समस्याप्रति प्रश्न उठाउँदै पटक–पटक अनियमितताका विषय सार्वजनिक हुँदा पनि सुधार हुन नसकेको बताए। कोटेश्वरलगायतका स्थानबाट सञ्चालन हुने लामो दूरीका सवारीमा बारम्बार समस्या देखिनुको कारणबारे उनले सम्बन्धित अधिकारीसँग स्पष्ट जवाफ मागे। यातायात व्यवस्थापनमा देखिएका समस्यालाई गम्भीर रूपमा लिएर अनियमितताका गुनासाप्रति जिम्मेवार भएर काम गर्न उनले यातायात व्यवस्था कार्यालय र विभागलाई आग्रह गरे।काठमाडौँको ‘एक बसपार्क नीति’ प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको विषयमा पनि उनले असन्तुष्टि जनाए।
विभिन्न सडक, गल्ली तथा रिङरोडका जथाभावी स्थानबाट यात्रु चढाउने–ओराल्ने र टिकट काट्ने प्रवृत्तिले दुर्घटनाको जोखिम बढाएको उनको भनाइ थियो। विगतमा ट्राफिक प्रहरीले यस विषयमा सकारात्मक पहल गरे पनि अन्य सरकारी निकायको असहयोगका कारण नीति प्रभावकारी हुन नसकेको उल्लेख गर्दै उनले दसैँ, तिहार र छठजस्ता चाडपर्वमा मात्र नभई वर्षभरि नै यातायात नियमको कडाइका साथ पालना गराउनुपर्ने बताए।त्यसैगरी, क्षमताभन्दा बढी यात्रु बोक्ने, सवारीको डालाभन्दा माथिसम्म असुरक्षित रूपमा सामान लोड गर्ने तथा विदेशी नम्बर प्लेटका ओभरलोड सवारीसाधनको पर्याप्त नियमन हुन नसकेकोप्रति पनि सांसद पाण्डेले आपत्ति जनाए। यस्ता सवारीमाथि नियमित अनुगमन गरी आवश्यक कारबाही गर्नुपर्नेमा उनले जोड दिए।पाण्डेले अब संसदीय समितिको बैठकमा समस्या उठाउने मात्र नभई निर्णय कार्यान्वयन भएको देखिनुपर्ने बताए। जिम्मेवार अधिकारीहरू बैठकमा उपस्थित भएर आफ्नो जिम्मेवारीअनुसार काम गर्नुपर्ने उल्लेख गर्दै उनले समस्या समाधान र नीतिगत निर्णय कार्यान्वयन नभए संसदीय उपसमिति स्वयं स्थलगत अनुगमनमा जाने चेतावनी दिए। जिम्मेवार अधिकारीलाई जवाफदेही बनाउने र सडक सुरक्षा तथा यातायात व्यवस्थापनमा सुधार ल्याउनेतर्फ समितिले आवश्यक कदम चाल्नुपर्ने उनको भनाइ थियो।