काठमाडौं । नेपाल फार्मेसी परिषद्का सदस्य नियुक्तिको प्रक्रियाप्रति नेपाल फार्मेसी संघले आपत्ति जनाएको छ। सदस्य नियुक्तिका लागि आवेदन माग गरी उम्मेदवारहरूको अन्तर्वार्तासमेत सम्पन्न भइसकेपछि ‘भुलबस छुटेको’ भन्दै पुनः दुई जना उम्मेदवारको नाम थपिएको विषयमा संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले परिषद्का चार सदस्य नियुक्तिका लागि गत भदौ १ गते आवेदन माग गरेको थियो। प्राप्त आवेदनमध्येबाट भदौ १७ गते अन्तिम उम्मेदवारको नामावली प्रकाशन गरिएको थियो भने सूचीमा परेका उम्मेदवारहरूको भदौ १८ गते अन्तर्वार्ता लिइएको थियो। तर, उक्त अन्तर्वार्ताको नतिजा सार्वजनिक नगरी असोज ८ गते नयाँ सूचना जारी गर्दै यसअघि अन्तिम सूचीमा नरहेका दुई जनालाई समेत अन्तर्वार्ताका लागि बोलाइएको हो।अन्तर्वार्ता सम्पन्न भएको २१ दिनपछि ‘भुलबस छुटेको’ भन्दै नयाँ उम्मेदवारको नाम थपिनु स्वाभाविक र स्पष्ट नभएको नेपाल फार्मेसी संघका महासचिव सुवर्णराज पन्तले बताएका छन्। उनका अनुसार थपिएका उम्मेदवारहरूको अन्तर्वार्ता सोमबार दिउँसो १ बजेका लागि तोकिएको छ।
यसअघि सरकारले गत साउनमा नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलमलाई नियुक्त गरेको थियो। उनले साउन २० गते स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा पद तथा गोपनीयताको शपथ लिएका थिए। डा. आलम यसअघि पनि परिषद्का सदस्य थिए।प्रदीप पौडेल स्वास्थ्य मन्त्री रहेका बेला २०८२ जेठ ३० गते डा. आलम परिषद् सदस्यमा नियुक्त भएका थिए। फार्मेसी परिषद्को सदस्य बन्न फार्मेसीसम्बन्धी संघ–संस्थामा आबद्ध भएको प्रावधान रहेको र मुस्लिम फार्मासिस्ट एसोसिएसन अफ नेपालमा आबद्ध भएको आधारमा उनको नियुक्ति भएको बताइएको छ। उक्त संस्था भने डा. आलमको नियुक्तिभन्दा आठ दिनअघि अर्थात् २०८२ जेठ २२ गते मात्र दर्ता भएको थियो।त्यतिबेलै डा. आलमको सदस्य नियुक्तिको प्रक्रियामाथि प्रश्न उठेको नेपाल फार्मेसी संघका महासचिव पन्तको दाबी छ। परिषद् सदस्य नियुक्तिका लागि प्रयोजनकै निम्ति उक्त संस्था दर्ता गरिएको हो कि भन्ने आशंका त्यतिबेला गरिएको उनले बताएका छन्।
अहिले ‘भुलबस छुटेको’ भन्दै परिषद् सदस्य नियुक्तिका लागि थपिएका उम्मेदवारमध्ये एक जना डा. आलम आबद्ध मुस्लिम फार्मासिस्ट एसोसिएसन अफ नेपालसँग सम्बन्धित व्यक्ति रहेको पन्तले बताएका छन्। यसले परिषद् सदस्य नियुक्तिको प्रक्रियाको निष्पक्षतामाथि थप प्रश्न उठाएको उनको भनाइ छ।नेपाल फार्मेसी संघले विगतमा सत्ता, पहुँच वा प्रभावका आधारमा नियुक्ति हुने गरेको आरोप तथा गुनासोलाई ध्यानमा राख्दै यसपटक मन्त्रालयको निर्णय प्रक्रिया पारदर्शी र निष्पक्ष हुनुपर्ने माग गरेको छ। संघका महासचिव पन्तले आफूहरूको चासो कुनै निश्चित व्यक्तिलाई नियुक्त गर्ने वा नगर्ने विषयमा नभई नियुक्ति प्रक्रिया नै स्पष्ट, निष्पक्ष र पारदर्शी हुनुपर्नेमा रहेको बताएका छन्।