चितवन । चितवनमा लगातारको वर्षाका कारण उर्लिएको नारायणी नदीको जलसतह घट्दै पुरानै अवस्थामा फर्किन थालेको छ। आइतबार इतिहासकै उच्च ११.९४ मिटर पुगेको नदीको जलसतह हाल घटेर ७.४५६ मिटरमा झरेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार देशभरका प्रमुख नदीहरूको जलसतह पनि सामान्य अवस्थातर्फ फर्किँदै गएको छ। आज बिहानको मापनअनुसार नारायणी नदीमा जलसतह सतर्कता तहभन्दा माथि रहे पनि पानीको बहाव निरन्तर घट्दो क्रममा छ। देवघाटस्थित मापन केन्द्रमा आज पानीको बहावमा सामान्य घटबढ हुन सक्ने भएकाले पहेँलो संकेत जारी गरिएको छ। महाशाखाले भोलिदेखि देवघाट क्षेत्रमा पनि नदीको अवस्था पूर्ण रूपमा सामान्य हुने पूर्वानुमान गरेको छ।