पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति ह्युरोनको आपत्ति

पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति ह्युरोनको आपत्ति

काठमाडौँ । नेपाल मानव अधिकार सङ्गठन (ह्युरोन) ले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई शनिबार राति पक्राउ गरी हिरासतमा राखेर पछि छोडिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ। सङ्गठनले घटनाप्रति ध्यानाकृष्ट भएको जनाउँदै मानव अधिकारको सम्मान र विधिको शासन कायम गर्न सरकार तथा सम्बन्धित निकायलाई अपिल गरेको हो।ह्युरोनका अनुसार वर्तमान सरकार आएपछि राज्यका विभिन्न अङ्ग तथा संवैधानिक पदमा रहेर देशको सेवा गरिसकेका व्यक्तिहरूलाई प्रचलित संवैधानिक तथा कानुनी व्यवस्थाविपरीत बिनाकसुर पक्राउ गर्ने, हिरासतमा राख्ने र मानमर्दन गर्ने कार्य भइरहेको छ। यस्ता गतिविधिले नेपाल पक्ष भएका मानव अधिकारसम्बन्धी कानुनले सुनिश्चित गरेको सम्मानपूर्वक जीवनयापन गर्ने अधिकार तथा स्वतन्त्रताको हकको गम्भीर उल्लङ्घन हुने सङ्गठनको भनाइ छ।

कुनै पनि व्यक्तिलाई बिनाकसुर स्वेच्छाचारी ढङ्गले राज्यले नियन्त्रणमा लिनु नेपालको संविधान, वैयक्तिक अधिकार, प्रचलित कानुन तथा नेपाल पक्ष राष्ट्र भएका अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी कानुन र मानव अधिकारको विश्वव्यापी घोषणापत्रको मर्मविपरीत हुने सङ्गठनले जनाएको छ। नेपाल संवैधानिक सर्वोच्चता भएको लोकतान्त्रिक मुलुक भएकाले सरकारले संविधान र प्रचलित कानुनबमोजिम पारदर्शी ढङ्गले आफ्ना जिम्मेवारी पूरा गर्नुपर्नेमा ह्युरोनले जोड दिएको छ।नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा लोकतान्त्रिक प्रणाली पदीय व्यक्तिको मनोमालिन्य र स्वेच्छाचारिताबाट नभई मानव अधिकार, शक्ति सन्तुलनको सिद्धान्त, संविधानवाद, विधिको शासन तथा मौलिक र वैयक्तिक अधिकारको सम्मानबाट सञ्चालन हुने उल्लेख गरिएको छ। सङ्गठनले वर्तमान सरकारसहित सम्पूर्ण सरोकारवाला निकायलाई राज्यशक्तिको दुरुपयोग र स्वेच्छाचारिताबाट शासन नगर्न तथा संविधान र लोकतान्त्रिक मूल्य–मान्यताअनुरूप विधिको शासनको सम्मान गर्न अपिल गरेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार