काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले मन्त्रालयको नाम परिवर्तनसम्बन्धी नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३ प्रतिनिधि सभामा प्रस्तुत गरेकी छन्। सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा मन्त्री वादीले मन्त्रालयको नाममा थप समावेशी पहिचान जोड्न आवश्यक रहेको भन्दै विधेयक पेस गरेकी हुन्। नेपाल सरकार कार्य विभाजन नियमावली, २०८३ बमोजिम मन्त्रालयको कार्यक्षेत्रलाई थप स्पष्ट पार्न तथा विद्यमान ऐनहरूमा मन्त्रालयको नाम परिमार्जन गर्न विधेयक आवश्यक भएको उनले बताइन्।
यसअघि सभामुखले विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव सदनसमक्ष पेस गरेका थिए। प्रतिनिधि सभा नियमावली, २०८३ को नियम १०५ बमोजिम उक्त प्रस्तावमाथि कुनै पनि सांसदबाट विरोधको सूचना प्राप्त नभएपछि सभामुखले विधेयक प्रस्तुत गर्न अनुमति दिएका हुन्। प्रस्तावित विधेयक पारित भएमा मन्त्रालयको नाम ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय’ रहनेछ। यसअघि मन्त्रालयको नाममा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको स्पष्ट पहिचान समावेश थिएन। विधेयक पारित भएपछि सम्बन्धित सबै ऐनमा मन्त्रालयको नामसमेत कानुनी रूपमा परिमार्जन हुनेछ।