म्याग्दी । कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा २२० केभी क्षमताको कालीगण्डकी करिडोरअन्तर्गत दाना–खुर्कोट प्रसारण लाइनका टावर बगाएपछि म्याग्दी र मुस्ताङका १७६ मेगावाट क्षमताका छवटा जलविद्युत् आयोजना बन्द भएका छन्। अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेका ५ मेगावाटको घलेम्दीखोला, ४२ मेगावाटको म्रिस्त्रीखोला, ३८ मेगावाटको निलगिरी–१, ७१ मेगावाटको निलगिरी–२ र ६ मेगावाटको रेलेखोला जलविद्युत् आयोजनाको विद्युत् उत्पादन तथा प्रसारण प्रभावित भएको हो। मुस्ताङको टुकुचेमा रहेको १४ मेगावाटको थापाखोला जलविद्युत् आयोजनाको विद्युत् पनि केन्द्रीय प्रणालीमा जोडिन सकेको छैन।अन्नपूर्ण गाउँपालिका–४ पोखरेबगरमा रहेको १४ मेगावाटको घारखोला जलविद्युत् आयोजना भने विद्युत्गृह पहिरोले पुरिएपछि गत साउन अन्तिम सातादेखि नै बन्द अवस्थामा छ। पछिल्लोपटक असोज ८ देखि ११ गतेसम्म परेको वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले अन्नपूर्ण गाउँपालिका–१ दोवाको भिरकाटेपारिका दुईवटा र धिरच्याङको एउटा गरी तीनवटा प्रसारण लाइनका टावर बगाएको अन्नपूर्ण गाउँपालिका–२ का वडाध्यक्ष ओम फगामीले जानकारी दिएका छन्।
बाढीपहिरोले प्रसारण लाइनसँगै कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम सडकमा समेत ठूलो क्षति पुर्याएको छ। सडकका विभिन्न ठाउँमा कटान, भासिने र पहिरो जाने समस्या देखिएपछि यातायात तथा पैदलयात्रा समेत कठिन बनेको छ। बेनीदेखि पैदलयात्रा गरेर पोखरेबगर हुँदै शिख पुगेका सञ्चारकर्मी गणेश गुरुङका अनुसार बेनी–पोखरेबगर सडकखण्डका थुप्रै स्थानमा सडक भासिएको, कटान भएको तथा पहिरो थुप्रिएको छ। विद्युत्का तार तथा पोलमा समेत क्षति पुगेको छ।बाढीपहिरोका कारण अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज र ६६ मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजना पनि प्रभावित भएका छन्। नेपाल विद्युत् प्राधिकरण पोखरा ग्रिडका प्रमुख रोशन खड्काका अनुसार अन्नपूर्ण गाउँपालिका–३ दानादेखि पोखरेबगरसम्मको क्षेत्रमा रहेका प्रसारण लाइनका टावरमा विपद्का कारण क्षति पुगेको छ। क्षतिको स्थलगत निरीक्षणका लागि प्राविधिक टोलीलाई स्थलमार्गबाट पठाइएको छ।
प्राधिकरणले म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा विद्युत् आपूर्ति कायम राख्न वैकल्पिक उपाय अपनाउने तथा क्षतिग्रस्त प्रसारण लाइनको पुनर्निर्माणलाई पनि सँगसँगै अघि बढाउने तयारी गरेको छ। यसअघि रहेको ३३ केभी क्षमताको प्रसारण लाइनको संरचनामा समेत बाढीपहिरोले क्षति पुर्याएको छ। दाना सबस्टेशनबाट मुस्ताङमा विद्युत् आपूर्ति गराउने प्रयास भए पनि क्षतिग्रस्त टावरको अवस्था पहिचान गर्न सडक यातायात र सञ्चार सम्पर्कमा आएको समस्याले कठिनाइ भएको प्राधिकरणले जनाएको छ।बाढीपहिरोका कारण मुस्ताङको सडक यातायात सम्पर्क विच्छेद हुनुका साथै विद्युत् अभावमा मोबाइल तथा इन्टरनेट सेवा समेत प्रभावित भएका छन्। यसबाट मुस्ताङसहित म्याग्दी र बागलुङका ग्रामीण क्षेत्रमा विद्युत्, सडक तथा यातायात सेवा अवरुद्ध हुँदा स्थानीय जनजीवन प्रभावित बनेको छ।