रसुवा । विपद्का कारण प्रभावित बालबालिकाको संरक्षण तथा मनोसामाजिक विकासका लागि रसुवाका विभिन्न स्थानमा १३ वटा बालमैत्री केन्द्र स्थापना गरिएको छ। नेपाल रेडक्रस सोसाइटीले युनिसेफको सहयोगमा ती केन्द्र स्थापना तथा सञ्चालनमा सहजीकरण गरेको हो। भोटेकोशी बाढीबाट उत्पन्न विपद्को अवस्थालाई मध्यनजर गर्दै प्रभावित बालबालिकालाई सुरक्षित, सहज र बालमैत्री वातावरण उपलब्ध गराउने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याइएको नेपाल रेडक्रस सोसाइटी रसुवा शाखाले जनाएको छ।
स्थापना गरिएका १३ केन्द्रमध्ये नौ वटा पूर्ण रूपमा सञ्चालनमा आइसकेका छन् भने बाँकी चार वटा सञ्चालनको क्रममा रहेका छन्। हाल सञ्चालनमा रहेका केन्द्रमा ४६२ जना बालबालिकाले सेवा तथा आश्रय पाएका छन्। तीमध्ये २१९ जना बालक र २४३ जना बालिका रहेका छन्। उमेर समूहका आधारमा पाँच वर्षभन्दा कम उमेरका ८८ जना र पाँच वर्षभन्दा माथिका ३७४ जना बालबालिका केन्द्रमा सहभागी छन्। सहभागीमध्ये एक जना अपाङ्गता भएका बालबालिका रहेको जनाइएको छ।
बालमैत्री केन्द्रमा बालबालिकाको उमेर र आवश्यकताअनुसार खेलकुद, मनोरञ्जन, सिकाइ, सिर्जनात्मक गतिविधि तथा मनोसामाजिक सहयोगसम्बन्धी कार्यक्रम सञ्चालन भइरहेका छन्। केन्द्रले विपद्पछिको कठिन परिस्थितिमा बालबालिकालाई सुरक्षित र सकारात्मक वातावरणमा आफ्ना भावना व्यक्त गर्न, साथीहरूसँग घुलमिल हुन तथा विभिन्न रचनात्मक गतिविधिमा सहभागी हुन अवसर प्रदान गरेको छ। यस्ता गतिविधिले विपद्का कारण प्रभावित बालबालिकाको मनोसामाजिक अवस्था सुधार गर्न तथा उनीहरूलाई सुरक्षित वातावरणमा रहन सहयोग पुगेको बताइएको छ।