गोरखा । पछिल्लो वर्षासँगै आएको बाढीले सहिद लखन गाउँपालिका–३ सिलिङटार र मनकामना केवलकारको तल्लो स्टेसन चेरेस जोड्ने झोलुङ्गे पुल क्षतिग्रस्त भएपछि मनकामना र आसपासका करिब १५० घरधुरीका बासिन्दालाई आवतजावतमा समस्या भएको छ । पुल क्षतिग्रस्त भएपछि सिलिङटार, केवरपानी र मनकामना हटियाका स्थानीयवासीलाई राजमार्गसम्म पुग्न कठिन भएको वडाध्यक्ष दीपक पाण्डेले जानकारी दिए । उनका अनुसार कुरिनटार र मुग्लिनका विद्यालय तथा कलेज जाने ५० जनाभन्दा बढी विद्यार्थीसमेत प्रभावित भएका छन् । स्थानीय किसानलाई उत्पादन गरेको तरकारी बजारसम्म पुर्याउन तथा बजारबाट अत्यावश्यक सामग्री ल्याउन पनि समस्या भएको छ । पुल सञ्चालनमा नहुँदा वैकल्पिक पुल प्रयोग गर्न डेढदेखि दुई घण्टा घुमेर ठेउवाटार पुग्नुपर्ने बाध्यता रहेको पाण्डेले बताए । यसअघि केवलकार चढ्न नसक्ने वा नचाहने मनकामना तीर्थयात्री यही पुल हुँदै सिलिङटार पुगेर बस तथा जीपमार्फत मन्दिर जाने गरेका थिए । पुल क्षतिग्रस्त भएपछि तीर्थयात्रीलाई समेत आवतजावतमा समस्या भएको छ । बाढीले पुलको अवस्था गम्भीर रूपमा बिगारेकाले जीप राख्ने ठाउँसमेत नरहेको वडाध्यक्ष पाण्डेको भनाइ छ ।