महोत्तरी । महोत्तरी जिल्लामा भूमिहीन, भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासी गरी २८ हजार ४३५ जनाले लालपुर्जा प्राप्तिका लागि आवेदन दिएका छन् । भूमि समस्या समाधान समिति महोत्तरीका अनुसार प्राप्त आवेदनमध्ये २८ हजार २२७ वटा प्रणालीमा प्रविष्ट भइसकेका छन् भने २०८ वटा प्रविष्ट गर्न बाँकी छन् । प्रणालीमा प्रविष्ट भएका आवेदनमध्ये भूमिहीन परिवारका १६ हजार २३९ आवेदन रहेका छन् । तीमध्ये ८ हजार ४१८ भूमिहीन दलित र ७ हजार ८२१ भूमिहीन सुकुमवासीका आवेदन छन् । त्यस्तै, अव्यवस्थित बसोवासीका ११ हजार ६९१ आवेदन प्राप्त भएका छन् भने २१७ वटा आवेदन अस्वीकृत गरिएको समितिले जनाएको छ । समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जिम्मेवारी पाएसँगै कामलाई निरन्तरता दिइरहेको बताउँदै निश्चित पद्धति र प्रक्रियाबाट काम अघि बढाउँदा केही समय लाग्ने बताएका छन् । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तहमा रहेका १३८ वडामध्ये सम्सी–४, पिपरा–१, सोनमा–५ र ६ तथा मनराशिश्वा–७ र ९ गरी छवटा वडाबाट भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोवासीमध्ये कुनै पनि प्रकृतिका आवेदन नपरेको समितिले जनाएको छ । भूमि समस्या समाधानका लागि हकदाबीसम्बन्धी सातदिने सूचना ११७ वडामा प्रकाशन गरिएको छ भने ९३ वटा वडामा वडास्तरीय सहजीकरण समिति गठन भई काम अघि बढेको छ । समितिका अनुसार २६ वडाका भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोवासीको पहिचानसमेत भइसकेको छ । पालिकास्तरमा हालसम्म सम्सी, सोनमा, महोत्तरी, जलेश्वर र बर्दिबासमा मात्र सहजीकरण समिति गठन भएका छन् । स्थलगत अध्ययन, जग्गाको प्रकृति तथा हकभोगको अवस्था यकिन, नाप–नक्सा र वडा तथा पालिकास्तरीय सहजीकरण समितिबाट निर्णय भएका आवेदनलाई जिल्ला भूमि समस्या समाधान समितिले आवश्यक अध्ययन गरी टुङ्ग्याउने प्रक्रिया रहेको छ । वर्तमान सरकार गठनपछि जिल्ला तहमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा भूमि समस्या समाधान समिति गठन गरिएको हो । समितिले आवश्यक प्रक्रिया पूरा गरी भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) उपलब्ध गराउने जनाएको छ ।