काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा प्रसाईको रिटको पेसी तोकिएको हो। प्रसाईको हकमा उमा प्रसाईले नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो भोटाहिटी, काठमाडौंलगायतलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी छन्।प्रसाईलाई रास्वपा सांसद रचना खड्काले दिएको जाहेरीका आधारमा साइबर ब्यूरोले अनुसन्धानका लागि पक्राउ गरेको थियो। प्रसाईले केही समयअघि जनजी सहिदकी आमासमेत रहेकी सांसद खड्कालाई लक्षित गर्दै ‘छोराको लासमा टेकेर सांसद बनेको’ अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिको विषय खड्काले संसद्मा समेत उठाएकी थिइन्। सोही घटनापछि प्रहरीले प्रसाईलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो। आजको सुनुवाइमा अदालतले प्रसाईको पक्राउ तथा थुनालाई कानुनी आधारमा कसरी हेर्ने भन्ने विषयमा सुनुवाइ गर्नेछ।