काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६३४ जना सवारी चालकलाई कारबाही गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार नियमित निगरानी तथा चेकजाँचका क्रममा ती चालकलाई कारबाही गरिएको हो।कारबाहीमा पर्नेमा मादकपदार्थ सेवन गरी सवारी चलाउने ६० जना, सीसीटीभीबाट पहिचान भएका ५३ जना, सङ्केत बत्ती उल्लङ्घन गर्ने २८ जना र तीव्रगतिमा सवारी चलाउने ९३ जना रहेका छन्। त्यस्तै, निषेधित क्षेत्रमा हर्न बजाउने पाँच, लेन उल्लङ्घन गर्ने पाँच, सवारीसाधनको अवस्था ठीक नभएका १२ तथा एकतर्फी सडकको नियम पालना नगर्ने पाँच जना चालकलाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।यसैगरी, अन्य विभिन्न सवारी नियम उल्लङ्घन गर्ने ३७३ जनालाई जरिवानासहित कारबाही गरिएको छ। ट्राफिक प्रहरीले सडक अनुशासन कायम गर्न नियमित जाँच तथा निगरानीलाई निरन्तरता दिँदै आएको जनाएको छ। प्रहरीले चालकहरूलाई ट्राफिक नियमको पूर्ण पालना गर्दै सुरक्षित रूपमा सवारी चलाउन आग्रह गरेको छ। सवारी नियमको पालना चालकको जिम्मेवारी मात्र नभई पैदलयात्रीको सुरक्षासँग समेत जोडिएको विषय भएकाले नियम उल्लङ्घन नगर्न प्रहरीले सबैमा अनुरोध गरेको छ।