पर्वत । पर्वतमा बाढीपहिरोका कारण जिल्लाभर करिब ३०० परिवार विस्थापित भएका छन् भने १७० घर पूर्ण रूपमा र १३१ घर आंशिक रूपमा क्षति भएका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लाका सात पालिकामध्ये छ पालिकाका विभिन्न बस्तीमा बाढीपहिरोले क्षति पुर्याएको हो। सबैभन्दा बढी जलजला गाउँपालिका प्रभावित भएको छ, जहाँ ११३ घरमा ठूलो क्षति पुगेको, ५८ घर पहिरोको जोखिममा रहेको र १७१ परिवार विस्थापित भएका छन्। त्यस्तै, कुश्मा नगरपालिकामा दुई, फलेवास नगरपालिकामा २०, बिहादी गाउँपालिकामा नौ, महाशिला गाउँपालिकामा दुई र मोदी गाउँपालिकामा १५ घर पूर्ण रूपमा क्षति भएका छन्। बाढीपहिरोका कारण पाँच विद्यालय भवन, कृषि फार्म, मन्दिर, स्वास्थ्य संस्था तथा प्रहरी चौकीमा समेत क्षति पुगेको छ। पर्वत–बागलुङ जोड्ने झोलुङ्गे पुल तथा मध्यपहाडी लोकमार्गअन्तर्गत मालढुङ्गा पुलमा पनि क्षति पुगेको छ भने जिल्लाका ग्रामीण सडकहरू अझै अवरुद्ध छन्। कालीगण्डकी लोकमार्गअन्तर्गत फलेवास–बिहादी र लुङ्खुदेउराली–हुवास सडक सञ्चालनमा आउन अझै केही दिन लाग्ने प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले बताएका छन्। बाढीपहिरोबाट विस्थापित परिवारलाई स्थानीय प्रशासन, स्थानीय तह, नेपाल रेडक्रस सोसाइटीलगायत विभिन्न सामाजिक सङ्घसंस्थाले त्रिपाल, खाद्यान्न, भाँडाकुँडा, ओढ्ने–ओछ्याउने, सरसफाइ तथा स्वास्थ्य सामग्री उपलब्ध गराइरहेका छन्।