काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापामगरले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएकी छन्। धादिङ क्षेत्र नं. २ बाट खुला महिलातर्फ सर्वाधिक मतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित थापामगरले महाधिवेशनमा खुला महिलातर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेकी हुन्।
दुई दशकभन्दा लामो समयदेखि नेपाली लोकदोहोरी क्षेत्रमा सक्रिय थापामगरका थुप्रै लोकदोहोरी गीत चर्चित छन्। संगीत क्षेत्रसँगै सामाजिक तथा राजनीतिक गतिविधिमा समेत सक्रिय रहँदै आएकी उनले नेपाली कांग्रेसको इतिहास, संघर्ष र आदर्शलाई आत्मसात् गर्दै पार्टीका अग्रजहरूले देखाएको बाटो पछ्याउने बताएकी छन्।
युवापुस्ता तथा महिलाको सम्मानजनक सहभागिता, अवसर र नेतृत्वलाई थप बलियो बनाउने आफ्नो मुख्य संकल्प रहेको थापामगरले बताएकी छन्। कांग्रेसको संगठनलाई थप समावेशी र प्रभावकारी बनाउन महिला तथा युवाको भूमिका महत्वपूर्ण रहेको उनको धारणा छ।केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारीसँगै थापामगरले पार्टीभित्र आफ्नो लामो समयको सामाजिक तथा सांगीतिक अनुभवलाई राजनीतिक भूमिकासँग जोडेर अघि बढ्ने बताएकी छन्।