सुरेन्द्रराज पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

सुरेन्द्रराज पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा गण्डकी प्रदेशका मुख्यमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले उपसभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। पार्टीभित्र एकता, सुदृढ संगठन निर्माण र वैचारिक स्पष्टतासहित कांग्रेसलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै उनले उपसभापतिमा उम्मेदवारी घोषणा गरेका हुन्।

यसअघि निवर्तमान सभापति शेरबहादुर देउवा तथा उपसभापति पूर्णबहादुर खड्कासँग निकट रहेका पाण्डे विशेष महाधिवेशनपछि भने सभापति गगन थापा नेतृत्वको कांग्रेसमा सक्रिय भएका हुन्। विशेष महाधिवेशन र देउवा नेतृत्वको कांग्रेसले वैधता पाएको अवस्थामा पनि पाण्डे उपसभापति पदमै उम्मेदवार बन्ने तयारीमा थिए। तर, गगन थापा नेतृत्वलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले मान्यता दिएपछि पाण्डे थापा नेतृत्वमै आबद्ध भएका हुन्।उम्मेदवारी घोषणा गर्दै पाण्डेले पार्टीभित्र र बाहिरबाट निरन्तर उठ्दै आएको कांग्रेसको एकता र सुदृढ संगठन निर्माणको आवश्यकतालाई आफूले गम्भीर रूपमा लिएको बताए। पार्टीका सबै तह र पुस्ताका नेता–कार्यकर्तालाई संवाद, सहकार्य र साझा उद्देश्यका आधारमा एउटै सूत्रमा जोड्ने प्रयासलाई आफ्नो प्रमुख जिम्मेवारी बनाउने उनको भनाइ छ।

४५ वर्षदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहेको बताउने पाण्डे यसअघि दुई पटक केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। प्रदेश सभा सदस्यमा निर्वाचित भएर गण्डकी प्रदेशको मुख्यमन्त्री बनेका उनी यसअघि राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेतासमेत थिए।पाण्डेले सरकार सञ्चालनका क्रममा पार्टीका मूल्य, मान्यता र लोकतान्त्रिक आदर्शलाई सधैं शिरोधार्य गरेको दाबी गरेका छन्। सुशासन, पारदर्शिता र जवाफदेहितालाई आफ्नो कार्यशैलीको मूल आधार बनाउँदै आएको उल्लेख गर्दै उनले सरकार र संगठनमा प्राप्त लामो अनुभवलाई अब पार्टीको हितमा पूर्ण रूपमा उपयोग गर्ने बताएका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार