काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा इलाम कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्काले कोशी प्रदेश खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। सामाजिक सेवामा सक्रिय खड्काले देशमा आपत् तथा विपद्का बेला अग्रसर हुँदै दुःखमा परेका नागरिकलाई सहयोग गर्दै आएका छन्। उनले भूकम्प तथा कोरोना महामारीका समयमा पनि सामाजिक सेवामा सक्रिय भूमिका निर्वाह गरेका थिए। खड्काले ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालको लागि सबल कांग्रेस अबको विकल्प’ भन्ने नारासहित केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन्। कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि राजधानीमा सुरु भएको छ भने उम्मेदवारी दर्ताको समय मंगलबारका लागि तोकिएको छ।