काठमाडौं । बराम जातिका युवाहरूलाई एकजुट बनाउने तथा आफ्नो मौलिक पहिचानप्रति सचेत गराउने उद्देश्यले नेपाल बराम समाजले काठमाडौंमा ‘प्रथम फुटसल कप’ प्रतियोगिता आयोजना गरेको छ । बुढानीलकण्ठस्थित देवी स्पोर्ट्स हाउसमा सम्पन्न प्रतियोगितामा काठमाडौं उपत्यका तथा आसपासका विभिन्न क्षेत्रबाट २४ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको फाइनल खेलमा थुमी युवा क्लबले गाउँले एकता बराम क्लबलाई ३–२ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको छ । विजेता थुमी युवा क्लबले नगद २० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्दा उपविजेता गाउँले एकता बराम क्लबले नगद १० हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधागत पुरस्कारसमेत प्रदान गरिएको थियो । गाउँले एकता बराम क्लबका सन्देश बराम उत्कृष्ट खेलाडी घोषित भए भने थुमी युवा क्लबका सचिन बराम उत्कृष्ट गोलकिपर बने । त्यस्तै, अन्नपूर्ण युवा क्लबका मनोज बरामले प्रतियोगिताभरि सर्वाधिक ८ गोल गर्दै सर्वाधिक गोलकर्ताको पुरस्कार प्राप्त गरे । नेपाल बराम समाजका अध्यक्ष सागर बरामका अनुसार काठमाडौंका विभिन्न स्थानमा छरिएर बसोबास गरिरहेका बराम युवाहरूलाई आफ्नो जाति, भाषा, संस्कृति र पहिचानबारे जानकारी गराउँदै उनीहरूबीच एकता र सहकार्य बढाउने उद्देश्यले फुटसल प्रतियोगिता आयोजना गरिएको हो । बराम जाति नेपाल सरकारद्वारा सूचीकृत ६० आदिवासी जनजातिमध्ये अति सीमान्तकृत समूहमा पर्छ । बराम समुदायको कुल जनसंख्या करिब ८ हजार रहेको बताइएको छ भने त्यसमध्ये ६३७ जना काठमाडौं उपत्यकामा बसोबास गर्छन् । समाजका संरक्षक प्रेम बरामका अनुसार बराम समुदायले बोल्ने मौलिक भाषा ‘बालकुरा’ अहिले लोपोन्मुख अवस्थामा पुगेको छ । भाषा तथा संस्कृति संरक्षणको चुनौती रहेको अवस्थामा यस्ता खेलकुद र सामुदायिक कार्यक्रमले बराम युवाहरूलाई आफ्नो मौलिक पहिचानप्रति सचेत गराउन तथा समुदायबीचको एकता मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।