पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पोखराका उद्यमी किरण केसीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन्। पार्टीको नीति, विधान र पछिल्लो आर्थिक नीतिको प्राथमिकताअनुसार आफूले उम्मेदवारी दिन लागेको केसीले बताएका छन्। निजी क्षेत्र, उद्यमशीलता, रोजगारी सिर्जना र लगानी विस्तारलाई राजनीतिको मूल एजेन्डासँग जोड्ने उद्देश्यले आफू चुनावी मैदानमा आउन लागेको उनको भनाइ छ।नेपाली कांग्रेसले खुला अर्थतन्त्र, निजी क्षेत्रसँगको सहकार्य, लगानीमैत्री तथा अनुमानयोग्य व्यावसायिक वातावरण र स्वदेशमै रोजगारी सिर्जनालाई आर्थिक नीतिको प्राथमिकतामा राख्दै आएको छ। साथै, पार्टीले प्रत्येक तहका कार्यसमितिमा उद्यम तथा व्यवसायमा दक्षता हासिल गरेका सक्षम युवालाई पार्टी संरचना र निर्वाचनको टिकटमा निश्चित प्रतिशत आरक्षण दिने घोषणा गरेको छ। यही परिवेशमा जलविद्युत्, वित्तीय तथा पूर्वाधार निर्माण क्षेत्रमा लामो अनुभव भएका केसीले केन्द्रीय सदस्यमा आफ्नो दाबी प्रस्तुत गरेका हुन्।
निजी क्षेत्रमा रहेर रोजगारी सिर्जना, लगानी विस्तार र अर्थतन्त्रका चुनौतीलाई नजिकबाट अनुभव गरेको बताउँदै केसीले पार्टीले निजी क्षेत्र र राजनीतिबीचको दूरी घटाउने प्रयास गरिरहेको बताए। उद्यमशीलतालाई नीतिगत प्राथमिकतामा ल्याउँदै राजनीतिलाई मुलुकको आर्थिक समृद्धिसँग जोड्न आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ। उनले उद्योग–व्यवसायलाई अनावश्यक रूपमा अपराधीकरण गर्ने कानुनी व्यवस्थाको पुनरावलोकन तथा झन्झटरहित व्यावसायिक वातावरण निर्माणका लागि पार्टीभित्र आवाज उठाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।पोखराका केसी प्रतिष्ठित उद्योगी तथा पूर्वसांसद स्वर्गीय सूर्यबहादुर केसीका छोरा हुन्। बाबुको व्यावसायिक विरासतलाई निरन्तरता दिँदै आएका उनले लन्डनको बोस्टन कलेजबाट व्यवसाय प्रशासनमा स्नातक तथा भारतको क्यालोक्र्स टिचर्स युनिभर्सिटीबाट स्नातकोत्तर गरेका छन्। हाल केसी ग्रुप अफ कम्पनीजका निर्देशक रहेका उनी विशेषगरी ऊर्जा र वित्तीय क्षेत्रमा सक्रिय छन्।
केसी सिक्लेस हाइड्रोपावर र भगवती हाइड्रोपावरका अध्यक्ष हुन्। उनी युनाइटेड इदी मर्दी, गण्डकी हाइड्रोपावर, झोमोलुङ्मा, अपर सेती, आम्पिक इनर्जी, माथिल्लो मर्स्याङ्दीलगायत दर्जनभन्दा बढी जलविद्युत् आयोजनामा सञ्चालकका रूपमा समेत संलग्न छन्। उनका बाबु सूर्यबहादुर केसीले स्थापना गरेको माछापुच्छ्रे बैंकसँगै केसी वित्तीय तथा बीमा क्षेत्रमा पनि सक्रिय छन्। उनी सन नेपाल लाइफ इन्स्योरेन्सका सञ्चालक तथा माछापुच्छ्रे बैंक र युनाइटेड अजोड इन्स्योरेन्सका संस्थापक हुन्।केसी नेपालको ‘क’ वर्गको निर्माण कम्पनी केसी कन्स्ट्रक्सनसँगै पोखरास्थित कालिका बहुमुखी क्याम्पसको सञ्चालक समिति अध्यक्षका रूपमा पनि सक्रिय छन्। हस्पिटालिटी तथा हाउजिङ व्यवसायमा समेत उनको संलग्नता रहेको छ। उत्पादन, रोजगारी, लगानी सुरक्षा र आर्थिक विकासलाई राजनीतिको प्रमुख आधार बनाउनुपर्ने एजेन्डासहित उनले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन्।कांग्रेससँग लामो राजनीतिक विरासत र योगदान बोकेका नेता–कार्यकर्ताको अनुभव पार्टीको अमूल्य सम्पत्ति रहेको उल्लेख गर्दै केसीले नयाँ पुस्ताको ऊर्जा, सिर्जनशीलता, प्रविधिमैत्री सोच र बदलिँदो आर्थिक तथा सामाजिक परिवेश बुझ्ने क्षमता पनि पार्टी निर्माणका लागि उत्तिकै आवश्यक रहेको बताए। अनुभव र नयाँ ऊर्जाबीचको सार्थक समन्वयबाट कांग्रेसलाई समयअनुकूल बनाउँदै अघि बढाउनुपर्ने उनको धारणा छ।