काठमाडौँ । नेपाल वायुसेवा निगम उच्च ब्याजदर, ठूलो ऋण दायित्व तथा सरकारी निकायबाट उठ्न बाँकी करोडौँ रुपैयाँका कारण गम्भीर वित्तीय संकटमा परेको छ। सोमबार बसेको संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले निगमको आम्दानीको ठूलो हिस्सा ऋणको ब्याज तिर्नमै खर्च भइरहेको भन्दै तत्काल वित्तीय सुधार आवश्यक रहेको बताएका छन्।
कालाखेतीका अनुसार राष्ट्र प्रमुखको विदेश भ्रमण, कोभिडकालमा गरिएको उद्धार तथा विभिन्न देशमा सञ्चालन गरिएका रेस्क्यु उडानबापत सरकारबाट निगमले १३ करोड ७५ लाख रुपैयाँ प्राप्त गर्न बाँकी छ। यसमध्ये सन् २००५ को भ्रमणबापत ४ करोड २७ लाख, कोभिडकालीन औषधि ढुवानीको १ करोड ५४ लाख, पाकिस्तानको बाढी उद्धार उडानको १ करोड १४ लाख र इजरायल उद्धार उडानको ५ करोड ७८ लाख रुपैयाँ रहेको छ। पटक–पटक पत्राचार गर्दा पनि रकम भुक्तानी नभएपछि निगमको नगद प्रवाहमा समस्या परेको उनको भनाइ छ।निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणमा क्रमशः ९.२५ प्रतिशत र १०.५ प्रतिशत ब्याज तिर्दै आएको छ। महँगो ब्याजदरका कारण निगमको वित्तीय भार बढेको भन्दै कालाखेतीले ब्याजदर घटाउन वा ऋण पुनर्संरचना गर्न सके निगमलाई नाफामा लैजान सहज हुने दाबी गरेका छन्।
निगमले निजी बैंकहरूबाट तुलनात्मक रूपमा सस्तो ब्याजदरमा ऋण लिने प्रस्ताव पाए पनि सञ्चय कोषको ऋण पूर्ण रूपमा चुक्ता नगरेसम्म अन्य वित्तीय संस्थाबाट ऋण लिन नपाउने सर्तका कारण समस्या भएको जनाएको छ। यसले निगमलाई महँगो ब्याजदरमै ऋणको भार बोक्न बाध्य बनाएको छ।कालाखेतीले निगमको सुधारका लागि ऋण पुनर्संरचना, ब्याजदर कटौती, सरकारी सहयोग तथा व्यवस्थापकीय सुधार आवश्यक रहेको बताएका छन्। साथै, विगतमा गठित विभिन्न अध्ययन समितिले दिएका सुधारसम्बन्धी सुझाव कार्यान्वयन नहुनु र निर्णय तहमा रहेका व्यक्तिहरूबाटै कार्यान्वयनमा उदासीनता देखिनुले निगमको सुधार प्रक्रिया थप जटिल बनेको उनको भनाइ छ। सरकारी बक्यौता उठाउने, ऋणको ब्याजभार घटाउने र व्यवस्थापन सुधार गर्ने काम प्रभावकारी रूपमा अघि बढे निगमको वित्तीय अवस्था सुधारिन सक्ने देखिन्छ।