बाँके । दसैँ पर्व नजिकिँदै गर्दा भारतबाट नेपाल फर्किने नेपालीको सङ्ख्या तीव्र रूपमा बढेको छ । पछिल्लो पाँच दिनमा मात्रै ५० हजारभन्दा बढी नेपाली नेपालगञ्जस्थित जमुनाहा नाका हुँदै दसैँ मनाउन स्वदेश फर्किएको इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख प्रहरी निरीक्षक राजनप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार दैनिक १० हजारभन्दा बढी नेपाली भारतबाट नेपाल प्रवेश गरिरहेका छन् । भारतको नयाँ दिल्ली, मुम्बई, हिमाञ्चल प्रदेशलगायत विभिन्न सहरमा रोजगारीका लागि गएका नेपाली चाडपर्व मनाउन घर फर्किरहेका हुन् । यात्राका क्रममा हुनसक्ने लुटपाट, ठगी तथा अन्य आपराधिक घटना रोक्न जमुनाहा नाकामा यात्रु सहायता कक्ष सञ्चालन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताए । भारतबाट फर्किने यात्रुलाई आवश्यक सूचना, समन्वय र सहयोग उपलब्ध गराउँदै सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउने व्यवस्था गरिएको उनले जानकारी दिए । बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसीका अनुसार चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गरिएको छ । भारतबाट फर्किने यात्रुको चापलाई ध्यानमा राख्दै नेपालगञ्ज र कोहलपुर बसपार्कमा पनि यात्रु सहायता कक्ष सञ्चालन गरिने भएको छ ।