काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार श्यामकृष्ण खड्गीले निष्पक्ष, निर्भय र भयरहित निर्वाचन सुनिश्चित गर्न माग गरेका छन्। बिहीबार विज्ञप्ति जारी गर्दै खड्गीले मतदान, मतगणना र परिणाम घोषणासम्मको सम्पूर्ण प्रक्रिया निष्पक्ष रूपमा सम्पन्न गर्न आग्रह गरेका हुन्।
खड्गीले आफ्नो उम्मेदवारी पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई थप बलियो बनाउँदै सशक्त कांग्रेस निर्माण गर्ने उद्देश्यले अघि सारिएको बताएका छन्। उनले नेपाली कांग्रेसमा कोही पनि निर्विकल्प नरहेको उल्लेख गर्दै महाधिवेशन प्रतिनिधिहरूलाई कुनै दबाब वा प्रभावमा नपरी आफ्नो विवेकको मत प्रयोग गर्न अपिल गरेका छन्। नेपाली कांग्रेस र लोकतन्त्रमाथि देखा परेका हरेक चुनौतीको सामना गर्न सक्षम पार्टी निर्माण गर्ने हुटहुटी, कार्ययोजना र तत्परतासहित आफू महाधिवेशनको मैदानमा उत्रिएको खड्गीको भनाइ छ। उनले कांग्रेसले लामो समयदेखि आन्तरिक तथा बाह्य लोकतन्त्रका पक्षमा संघर्ष गर्दै आएको स्मरणसमेत गरेका छन्।
विज्ञप्तिको सुरुवातमा खड्गीले नेपाली कांग्रेस स्थापना गर्न योगदान दिने बीपी कोइरालासहितका संस्थापक नेताहरू तथा नेपालको लोकतान्त्रिक आन्दोलनमा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। साथै, उनले १५औँ महाधिवेशनमा सहभागी सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई अभिवादन गर्दै लोकतान्त्रिक प्रक्रियामा स्वतन्त्र र निर्भय ढंगले सहभागी हुन आग्रह गरेका छन्। खड्गीले अन्ततः महाधिवेशनमा हुने मतदान, मतगणना र परिणाम घोषणाको प्रक्रियामा निष्पक्षता र निर्भयताको प्रत्याभूति गर्न सम्बन्धित पक्षसँग अनुरोध गरेका छन्।