काठमाडौँ । नागढुंगा सुरुङ मार्गमा अनधिकृत रूपमा प्रवेश गरेका तीन वटा दुईपांग्रे सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। केही दिनअघि धादिङको नौबिसेतर्फबाट सुरुङमा प्रवेश गरेका दुई वटा मोटरसाइकल र एउटा स्कुटरलाई निषेधित क्षेत्रमा सवारी चलाएको कसुरमा जरिवाना गरिएको हो। उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीका अनुसार बागमती प्रदेश–०२–०५१ प ५९९७ नम्बरको स्कुटर तथा गण्डकी प्रदेश–३–००१–१४३३ र बीएएबी १०७२ नम्बरका मोटरसाइकललाई रु. ५०० देखि रु. १,५०० सम्म जरिवाना गरिएको छ।
सुरक्षाका कारण नागढुंगा सुरुङभित्र दुईपांग्रे सवारी, पैदल यात्रु, तीनपांग्रे सवारी तथा प्रज्वलनशील पदार्थ बोकेका सवारी साधनलाई पूर्ण रूपमा प्रवेश निषेध गरिएको छ। सुरुङ सञ्चालन भएयता नियम उल्लङ्घन गर्दै प्रवेश गरेका हालसम्म ३२ वटा दुईपांग्रे सवारीलाई ट्राफिक प्रहरीले कारबाही गरिसकेको जनाएको छ। पछिल्लो समय नागढुंगा तर्फबाट सुरुङमा प्रवेश गरी नौबिसे निस्किएको एउटा मोटरसाइकलसमेत सीसीटिभीमा देखिएको छ। उक्त मोटरसाइकलको पहिचान गरी कारबाही गर्न प्रहरीले खोजी गरिरहेको जनाएको छ।