• २०८३ असोज २३ गते शुक्रवार
  • Preeti To Unicode

हिल्सामा खाद्यान्न र स्वास्थ्य सङ्कट, हिउँ छिचोल्दै घर फर्किन थाले नेपाली

हिल्सामा खाद्यान्न र स्वास्थ्य सङ्कट, हिउँ छिचोल्दै घर फर्किन थाले नेपाली

हुम्ला । चीनसँगको सीमानाका हिल्सा लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा रहेका नेपाली नागरिक तथा सुरक्षाकर्मी खाद्यान्न, खानेपानी र स्वास्थ्य उपचारको अभाव झेल्न बाध्य भएका छन्। गत ९ गतेदेखि बन्द रहेको नाका खुले पनि नेपालतर्फको सडकमा बाक्लो हिउँ जमेकाले आवागमन सहज हुन सकेको छैन। दैनिक उपभोग्य वस्तुको अभाव बढ्दै जाँदा हिल्सामा बसोबास गरिरहेका नागरिक तथा सुरक्षाकर्मीको अवस्था कष्टकर बन्दै गएको छ।

हिल्सा सीमा सुरक्षाचौकी (बीओपी)का इन्स्पेक्टर केदार सापकोटाका अनुसार लामो समयदेखि हरियो सागसब्जी खान नपाएको र माछामासु पूर्ण रूपमा बन्द भएको अवस्था छ। मौज्दातमा रहेको दालको झोलसँग खाना खानुपर्ने बाध्यता रहेको उनले बताए। नाका बन्द भएपछि खाद्यान्नसँगै स्वास्थ्य उपचारको समस्या पनि गम्भीर बनेको छ। हिल्सामा स्वास्थ्यचौकी वा मेडिकलसमेत नहुँदा बिरामी पर्दा उपचार पाउन कठिन भएको छ। सशस्त्र प्रहरी बलका एक जवानले सीएमए तालिम लिएको र उनीसँग उपलब्ध सामान्य औषधि, विशेषगरी सिटामोलकै भरमा बिरामीको उपचार गर्नुपर्ने अवस्था रहेको सापकोटाले जानकारी दिए। चीनतर्फको नाका खुलेपछि बिहीबार १४४ जना नेपाली नागरिक नेपाल प्रवेश गरेका छन्। तीमध्ये केहीले हिउँले ढाकिएको बाटो हुँदै नेपाल फर्किनुपरेको छ। कतिपय बिहीबार नै पैदल यात्रामा निस्किएका छन् भने चीनबाट अबेर नेपाल प्रवेश गरेकाहरू शुक्रबार बिहानै हिल्साबाट पैदल यात्रा सुरु गर्ने तयारीमा छन्। नेपालतर्फको सडकमा जमेको हिउँ पन्छाउने काम भने बुधबारदेखि मात्रै सुरु भएको हो।

नारा लेक क्षेत्रमा सडकमा जमेको हिउँ हटाउन सानो स्काभेटर (भ्याकु) प्रयोग गरिएको छ। तर, मेसिन सानो भएकाले दैनिक बढीमा एकदेखि दुई किलोमिटर मात्रै सडक सफा गर्न सकिने अवस्था छ। सडक सफा गर्ने काम सुस्त हुँदा हिल्सामा रोकिएका नेपाली नागरिकको चिन्ता बढेको छ। यही गतिमा हिउँ पन्छाउने हो भने दसैँसम्म पनि घर पुग्न नसकिने भन्दै बिहीबार एक सयभन्दा बढी नेपाली नागरिक हिल्साबाट पैदलै यात्रा सुरु गरेका छन्। लामो समयदेखि सीमा नाका बन्द हुनु, सडकमा बाक्लो हिउँ जम्नु, खाद्यान्न अभाव हुनु र स्वास्थ्य सेवाको पहुँच नहुनुले हिल्साको अवस्था थप सङ्कटपूर्ण बनेको छ। चीनतर्फको नाका खुले पनि नेपालतर्फको सडक सहज रूपमा सञ्चालनमा आउन नसक्दा घर फर्किन चाहने नागरिकका लागि थप चुनौती सिर्जना भएको छ। तत्काल प्रभावकारी रूपमा हिउँ पन्छाएर यातायात सञ्चालन गर्न नसके हिल्सामा खाद्यान्न तथा स्वास्थ्य सङ्कट थप गहिरिने जोखिम रहेको स्थानीय तथा सुरक्षाकर्मीले बताएका छन्। हाल हिल्सामा ३५ जना सशस्त्र प्रहरी, २० जना नेपाल प्रहरी, अध्यागमन कार्यालयका चार जना र भन्सार कार्यालयका चार जना गरी ६३ जना सरकारी कर्मचारी कार्यरत छन्। उनीहरूका साथै केही स्थानीय नागरिकसमेत त्यहाँ बसोबास गरिरहेका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार