• २०८३ असोज २३ गते शुक्रवार
  • Preeti To Unicode

पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरद्वारा समिति गठन

पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरद्वारा समिति गठन

पोखरा । पोखरा महानगरपालिका–२८, माझठानाबाट विद्यार्थी बोकेर आउँदै गरेको कालिका बोर्डिङ स्कुलको बस दुर्घटनाबारे छानबिन गर्न पोखरा महानगरपालिकाले समिति गठन गरेको छ। नगरप्रमुख धनराज आचार्यका अनुसार दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन, कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुधारका उपाय सुझाउन समिति गठन गरिएको हो।

महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा गठित समितिमा मेकानिकल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई सदस्य छन्। समितिलाई दुर्घटनाको कारण र घटनासँग सम्बन्धित विषयमा विस्तृत अध्ययन तथा छानबिन गरी पाँच दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ।

समितिले विद्यालयका सवारीसाधनको सुरक्षा, विद्यार्थीको सुरक्षित आवागमन र आगामी दिनमा अपनाउनुपर्ने सावधानीबारे आवश्यक सुझावसमेत दिनेछ। पोखरा महानगरपालिका–२८, माझठानाबाट विद्यार्थी बोकेर आउँदै गरेको बस कालिकास्थित ओख्लेको भीरमा दुर्घटनामा परेको थियो। नगरप्रमुख आचार्यका अनुसार दुर्घटनाका बेला विद्यार्थी, चालक र सहचालक गरी १९ जना सवार थिए। दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने अन्य घाइते उपचाररत छन्। विद्यार्थीको सुरक्षा सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै नगरप्रमुख आचार्यले विद्यालयका सवारीसाधनको नियमित जाँच, सुरक्षा मापदण्डको कडाइका साथ पालना र प्रभावकारी अनुगमन गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार