काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा दिउँसो साढे २ बजेसम्म ३ हजार ७५४ मत खसेको छ। निर्वाचन समितिका अनुसार कुल ७ हजार ३१७ प्रतिनिधिमध्ये अहिलेसम्म उक्त संख्यामा प्रतिनिधिले मतदान गरेका हुन्। विभिन्न प्रदेश तथा समूहका लागि तोकिएका मतदान केन्द्रमा मतदान जारी रहेको छ।
निर्वाचन समितिका अनुसार कोशी प्रदेशमा १ हजार २०७ प्रतिनिधिमध्ये ६१३, मधेस प्रदेशमा १ हजार २३४ मध्ये ५९०, सुदूरपश्चिम, कर्णाली र जनसम्पर्क समितितर्फका २ हजार ४५७ मध्ये ७३३ जनाले मतदान गरेका छन्। त्यस्तै, लुम्बिनी प्रदेशमा १ हजार ७९ प्रतिनिधिमध्ये ५७९, गण्डकी प्रदेशमा ७८७ मध्ये ५०७ र बागमती प्रदेशमा १ हजार ४९१ मध्ये ७३२ प्रतिनिधिले मतदान गरेका छन्।
निर्वाचन समितिले यसअघि दिउँसो ३ बजेसम्मका लागि तोकेको मतदानको समय बढाएर साँझ ५ बजेसम्म पुर्याएको छ। मतदान केन्द्रमा प्रतिनिधिहरूको लामो लाइन रहेकाले मतदानको समय थप गरिएको हो। निर्वाचन समितिका अनुसार मतदान प्रक्रिया निर्वाध रूपमा जारी रहेको छ।