• २०८३ असोज २३ गते शुक्रवार
  • Preeti To Unicode

भ्रष्टाचारविरुद्धको महासन्धि कार्यान्वयनको अवस्था अनुगमन गर्दै सरकार

भ्रष्टाचारविरुद्धको महासन्धि कार्यान्वयनको अवस्था अनुगमन गर्दै सरकार

काठमाडौँ । सरकारले भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिका प्रावधान कार्यान्वयनको अवस्थाबारे अनुगमनलाई तीव्रता दिएको छ। शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित प्रेस ब्रिफिङमा कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले दोलखा र रामेछाप जिल्लामा अनुगमन सम्पन्न गरिएको जानकारी दिए। महासन्धि कार्यान्वयनको अवस्थाबारे जानकारी लिन क्रमशः सबै जिल्लामा अनुगमन तथा निरीक्षण गरिने उनले बताए।

यसैगरी, सरकारले धनकुटा, सुनसरी र मोरङका कारागार तथा हिरासतमा रहेका थुनुवा र कैदीबन्दीको मानव अधिकारको अवस्थाबारे पनि अनुगमन गरेको छ। कैदीबन्दीको मानव अधिकार सुनिश्चित गर्न सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराइएको प्रवक्ता अर्यालले जानकारी दिए।

यसैबीच, सरकारले असोज २२ देखि २८ गतेसम्म सिंहदरबारस्थित सबै मन्त्रालय तथा परिसरमा ‘सरसफाइ सप्ताह’ सञ्चालन गरेको छ। अभियानलाई प्रभावकारी बनाउन प्रत्येक मन्त्रालयमा एक जना फोकल पर्सन तोकिएको छ। मन्त्रालयहरूमा सरसफाइ भए–नभएको नियमित अनुगमन तथा निरीक्षण गरिने र सरसफाइसम्बन्धी गतिविधिको विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नियमित रूपमा बुझाउने व्यवस्था मिलाइएको प्रवक्ता अर्यालले बताए। सरकारले नागरिकका गुनासाहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्न पनि आवश्यक काम गरिरहेको उनले जानकारी दिए।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार