• २०८३ असोज २३ गते शुक्रवार
  • Preeti To Unicode

प्रियङ्का श्रेष्ठ आत्महत्या प्रकरण : सागर श्रेष्ठ पुर्पक्षका लागि थुनामा

प्रियङ्का श्रेष्ठ आत्महत्या प्रकरण : सागर श्रेष्ठ पुर्पक्षका लागि थुनामा

काठमाडौँ । डोटी जिल्ला अदालतले प्रियङ्का श्रेष्ठको आत्महत्या दुरुत्साहन कसुरमा पक्राउ परेका सागर श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। जिल्ला अदालत डोटीका न्यायाधीश पदमराज पाण्डेको इजलासले बुधवार थुनछेक बहसपछि सागरलाई मुद्दाको अन्तिम किनारा नलागेसम्म थुनामा राख्ने आदेश दिएको हो।

मृतक प्रियङ्का श्रेष्ठ र सागर श्रेष्ठबीच विगत तीन वर्षदेखि प्रेम सम्बन्ध रहेको थियो। २०८३ भदौ ३० गते आफ्नो जन्मदिनका दिन प्रियङ्का दिपायल सिलगढी नगरपालिका–३ स्थित पुलबजारको सेती नदीमाथिको झोलुङ्गे पुलमा पुगेकी थिइन्। दिउँसो करिब ४ः५० देखि ५ बजेको समयमा उनी पुलको जालीमाथि चढेर सेती नदीमा हाम फालेकी थिइन्। घटनाको आठ दिनपछि, अर्थात् २०८३ असोज ७ गते बिहान ११ः१० बजे कैलालीको टीकापुर नगरपालिका–२, मूलपानीस्थित कर्णाली नदीको पश्चिम किनारमा उनको शव फेला परेको थियो। शव परीक्षण प्रतिवेदनमा प्रियङ्काको मृत्यु डुबेर भएको उल्लेख छ। मृतकका बुबा चन्द्र श्रेष्ठले सागरले छोरीलाई निरन्तर शारीरिक तथा मानसिक यातना दिएको, विवाह गर्न अस्वीकार गरेको र सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरिदिने धम्की दिएको आरोप लगाउँदै आत्महत्या गर्न बाध्य पारेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएका थिए। सोही जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले सागरविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १८५ को उपदफा (१) विपरीतको कसुरमा उपदफा (२) बमोजिम सजाय तथा पीडित राहत कोषबाट क्षतिपूर्ति भराउन मागदाबीसहित अदालतमा मुद्दा दायर गरेको थियो।

अदालत तथा अनुसन्धान अधिकारीसमक्ष बयान दिँदै सागरले आफूले प्रियङ्कालाई आत्महत्या गर्न बाध्य पार्ने कुनै कार्य नगरेको भन्दै आरोप अस्वीकार गरेका छन्। उनले प्रियङ्कासँग प्रेम सम्बन्ध रहेको स्वीकार गर्दै घटनाको दिन प्रियङ्काले फोन गर्दा आफू पसलको काममा व्यस्त रहेको बताएका थिए। पछि कुरा गरौँला भन्दा प्रियङ्काले आफूलाई ‘पुलबाट हाम फालौँ जस्तो लागिरहेको छ’ भनेको र आफूले उनलाई सम्झाउन खोजेको सागरको दाबी छ। उनले प्रियङ्कालाई कुनै पनि प्रकारको मानसिक वा शारीरिक यातना नदिएको जिकिर गरेका छन्। तर, अदालतले सागरले आरोप अस्वीकार गरे पनि मिसिलमा संलग्न तत्काल प्राप्त प्रमाणका आधारमा उनलाई हालै निर्दोष मान्न सकिने अवस्था नरहेको ठहर गरेको छ। अदालतको आदेशमा कल डिटेल रेकर्डबाट घटनाअघि र घटनाकै दिन प्रियङ्का र सागरबीच पटक–पटक फोन सम्पर्क भएको देखिएको उल्लेख छ। साथै, सागरले फेसबुक मेसेन्जरमार्फत प्रियङ्कालाई गालीगलौज तथा अपशब्द लेखेर पठाएका सन्देशहरू पनि मिसिलमा संलग्न रहेको अदालतले जनाएको छ। त्यसैगरी, मिसिलमा समावेश अडियो प्रमाणमा प्रियङ्काले सागरलाई ‘किन मलाई टर्चर गर्दैछौ?’ भनेको स्पष्ट सुनिएको विषयलाई समेत अदालतले आदेशमा उल्लेख गरेको छ। यी तथ्य, डिजिटल प्रमाण तथा प्रत्यक्षदर्शीहरूको बयानसमेतका आधारमा तत्काल प्राप्त प्रमाणले सागर निर्दोष देखिन नआएकाले मुद्दाको अन्तिम फैसला नहुँदासम्म उनलाई थुनामा राखेर पुर्पक्ष गर्ने आदेश अदालतले दिएको हो।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार