काठमाडौं, २७ असोज । हुंकार मधेशले संगठनका २१ वटा महत्वपूर्ण विभागका प्रमुखहरूको जिम्मेवारी तोकेको छ। संगठनले मंगलबार पहिलो चरणमा २१ विभागीय प्रमुखको जिम्मेवारी निर्धारण गरेको प्रवक्ता केशवकुमार झाले जानकारी दिएका छन्। विभागीय प्रमुखका लागि कम्तीमा स्नातक तह उत्तीर्ण गरेको र सम्बन्धित विषयमा विज्ञता हासिल गरेको हुनुपर्ने प्रावधान राखिएको संगठनले जनाएको छ।
गत ९ असोजमा औपचारिक घोषणा गरिएको हुंकार मधेशले सोही मापदण्डका आधारमा योग्य व्यक्तिहरूलाई जिम्मेवारी दिएको प्रवक्ता झाले बताए। जिम्मेवारी पाएका प्रमुखहरूलाई सात दिनभित्र आ–आफ्नो विभागको कार्ययोजना, कार्यविधि तथा सयदिने कार्यक्रमको कार्यसूचीको खाका तयार गरी पेस गर्न निर्देशन दिइएको छ।हुंकार मधेशले दसैँलगत्तै झापादेखि कञ्चनपुरसम्म सयदिने हुलाकी यात्रा सुरु गर्ने कार्यक्रम यसअघि नै तय गरिसकेको छ। संगठनले संवाद तथा समन्वय विभागको प्रमुखमा रामकुमार कश्यप, प्रचारप्रसार तथा प्रकाशन विभागमा केशव कुमार, संगठन विभागमा कौशलेन्द्र कौशल, कानुन तथा न्याय विभागमा रत्नेश्वर सनातनी र आईटी तथा कार्यमूल्यांकन विभागमा रोशन कुमारलाई जिम्मेवारी दिएको छ।
त्यसैगरी, बौद्धिक तथा पेसाकर्मी विभागमा डा. एनएन भारद्वाज, आर्थिक विभागमा सचिदानन्द यादव, अनुशासन विभागमा श्री राजाराम यादव, प्रशिक्षण तथा नीति अनुसन्धान विभागमा मनोहर मानव, सहकारी, कर्पोरेट तथा उद्यमशीलता विभागमा कृष्ण कुमार, स्वयंसेवी सुरक्षा दस्ता विभागमा उमेश सिंह र युवा तथा विद्यार्थी विभागमा पंकज आनन्दलाई जिम्मेवारी तोकिएको छ।वैदेशिक रोजगार विभागमा मनिष कुमार, सूचना तथा सञ्चार विभागमा पुष्पा प्रिया, संघीय मामिला विभागमा मधुमाया यादव, शिक्षा तथा संस्कृति विभागमा इन्द्रजित साफी, उद्योग, व्यापार, वाणिज्य तथा व्यवसाय विभागमा सन्दीप त्रिपाठी, नागरिकता तथा भूमिहीन समस्या समाधान विभागमा अंगद यादव, कृषि विकास तथा अनुसन्धान विभागमा रामकिशुन नायक, विज्ञान तथा प्रविधि विभागमा प्रा. विजय महासेठ र शहीद तथा घाइते व्यवस्थापन विभागमा मो. युसुफ साफीलाई जिम्मेवारी दिइएको छ।