सात बन्द सरकारी उद्योगमध्ये पाँचवटाको डीडीए रिपोर्ट तयार

सात बन्द सरकारी उद्योगमध्ये पाँचवटाको डीडीए रिपोर्ट तयार

काठमाडौं, २९ असोज । सरकारले लामो समयदेखि बन्द रहेका सातवटा सरकारी उद्योगमध्ये पाँचवटाको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) रिपोर्ट तयार पारेको छ भने बुटवल धागो कारखाना र नेपाल ओरिण्ड म्याग्नेसाइटको मूल्यांकन कार्य बाँकी रहेको अर्थ मन्त्रालयले जनाएको छ। डीडीए रिपोर्टको अध्ययनपछि सार्वजनिक–निजी साझेदारीको उपयुक्त मोडल छनोट गरी उद्योग पुनः सञ्चालन र लगानी व्यवस्थापन गरिने मन्त्रालयको भनाइ छ। सात उद्योगमा गोरखकाली रबर उद्योग, जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना, नेपाल मेटल कम्पनी, नेपाल ओरिण्ड एण्ड म्याग्नेसाइट, हेटौंडा कपडा उद्योग र उदयपुर सिमेन्ट उद्योग छन्। यसैबीच, हेटौंडा कपडा उद्योगको मेसिनरी मर्मत तथा परीक्षण उत्पादनका लागि सरकारले ३३ लाख रुपैयाँ निकासा गरेको छ। मन्त्रालयले सरकारी उद्योग पुनः सञ्चालन गर्दा निजी क्षेत्रसँग सहकार्य गरिने र निजी क्षेत्रलाई नै अर्थतन्त्रको प्रमुख चालकका रूपमा अघि बढाइने स्पष्ट पारेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार