३० असोज, काठमाडौं । नेपाल प्रहरीलाई प्रविधिमैत्री र समयानुकूल बनाउन कृत्रिम बौद्धिकता (एआई), ड्रोन तथा एन्टि–ड्रोन प्रविधि र ठगी नियन्त्रणका लागि नयाँ संरचना विकास गर्ने योजना अघि बढाइएको प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बताएका छन्। शुक्रबार ७१औँ प्रहरी दिवसका अवसरमा बोल्दै उनले अपराध अनुसन्धान र प्रहरी सेवाको प्रभावकारिता बढाउन आधुनिक प्रविधिको प्रयोग विस्तार गरिने जानकारी दिए। उनका अनुसार एआई तथा एड्भान्स्ड एनालिटिक्स सेल, एरियल सेक्युरिटीअन्तर्गत ड्रोन तथा एन्टि–ड्रोन युनिट र इन्टिग्रेटेड एन्टि–स्क्याम सेन्टर स्थापना गर्ने योजना अघि बढाइएको छ। यस्ता संरचनाले प्रहरीको कार्यक्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने उनको विश्वास छ। साथै, प्रहरी अस्पताललाई शिक्षण अस्पतालका रूपमा स्तरोन्नति गर्दै भविष्यमा नेपाल प्रहरी मेडिकल कलेज स्थापना गर्ने लक्ष्य रहेको उनले बताए। यसबाट प्रहरी कर्मचारी, उनीहरूका परिवार तथा सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने उनको भनाइ थियो। प्रहरी संगठनलाई प्रभावकारी, उत्तरदायी र अनुशासित बनाउन आदेश शृङ्खला, जवाफदेहिता र आपसी समन्वय आवश्यक रहेको उल्लेख गर्दै कार्कीले नागरिकमैत्री तथा प्रविधिमैत्री प्रहरी संगठन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे। समारोहमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कृतसमेत गरिएको थियो।