विराटनगर । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा हेरफेर गर्दै करिब ५ अर्ब रुपैयाँ बराबरका नयाँ योजना थप्ने तयारी तत्कालका लागि रोकेको छ। एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठबन्धनबीच बजेट पुनरवलोकन गर्ने सहमति भए पनि कानुनी जटिलता र मन्त्रालयहरूबाट आवश्यक प्रस्ताव नआएपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा यससम्बन्धी निर्णय हुन सकेन। मन्त्रीहरूले आफूअनुकूलका नयाँ योजना थप्न दबाब दिए पनि पुराना योजना कटौती गरेर बजेट सन्तुलन मिलाउनुपर्ने कानुनी व्यवस्थाका कारण प्रक्रिया अघि बढ्न नसकेको हो। अर्थ मन्त्रालयका सचिव कोषहरि निरौला बिदामा बसेपछि प्रस्ताव तयार पार्ने कामसमेत प्रभावित भएको स्रोतले जनाएको छ। आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपका अनुसार बजेट हेरफेरसम्बन्धी निर्णय अब दसैँ बिदापछि बस्ने मन्त्रिपरिषद् बैठकबाट मात्रै हुनेछ। उनले विनियोजन ऐनको दफा १२ प्रयोग गरी बजेट सन्तुलन मिलाउने बताएका छन्। अघिल्लो एमाले–कांग्रेस गठबन्धन सरकारले ल्याएको बजेट पुनरवलोकन गर्ने विषय नयाँ सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रममा समेत समेटिएकाले प्रदेश सरकारभित्र बजेट संशोधनको विषयमा छलफल र दबाब जारी रहेको छ।