सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–५ झाझपट्टीस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १५२ किलो १६० ग्राम गाँजा बरामद गरेको छ। नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा बुधबार राति करिब १२ बजे सशस्त्र प्रहरी बल नेपाल, नं. ७ गण हेडक्वार्टर सिरहाअन्तर्गत बीओपी नवराजपुरबाट खटिएको सात सदस्यीय मोटरसाइकल गस्ती टोलीले गाँजा बरामद गरेको हो।
सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा खटिएको गस्ती टोलीले झाझपट्टीस्थित सीमा क्षेत्रमा टाउकोमा बोकेर गाँजा भारततर्फ लैजाँदै गरेका व्यक्तिहरूलाई देखेपछि उनीहरू नौ बोरा गाँजा छाडेर फरार भएका थिए। कालो प्लास्टिकमा प्याक गरी बोराभित्र राखिएको अवस्थामा फेला परेको गाँजाको प्लास्टिकसहित कुल तौल १५२ किलो १६० ग्राम रहेको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीका एसपी सुमन जंग थापाका अनुसार बरामद गरिएको गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको छ।