कोशी ब्यारेजका सबै ५६ ढोका खोलियो, उदयपुर र सुनसरीमा पस्ने जोखिम


काठमाडौं ।  निरन्तरको मनसुनी वर्षाका कारण सप्तकोशी नदीको जलसतह बढेको छ । जलसतहमा भएको वृद्धिलाई दृष्टिगत गरी अहिले कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शनिबार बिहान ८ बजे चार लाख १८ हजार दुई सय ८५ क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको छ । नदीमा निरन्तर जलस्तर अनुगमन भइरहेको छ । पानीको सतह निरन्तर बढेपछि कोशी ब्यारेजमा जोखिमको सङ्केत देखिन जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

सप्तकोशी जलमापन केन्द्रले जलसतह जोखिम बिन्दुभन्दा माथि पुगेको बताएको छ । नदीको भेल उदयपुर र सुनसरीका केही क्षेत्रमा पस्ने जोखिम बढेको छ । तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रमुख अधिकारी तिवारीले आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०८१ असोज १२ गते शनिवार